गृहपृष्ठ लकडाउनले निम्त्याएको मानसिक तनाव

लकडाउनले निम्त्याएको मानसिक तनाव

कोरोनाभाइरस रोकथामका लागि सरकारले देशभर लकडाउन घोषणा गरेको दुई महिना हुन लाग्दैछ । मानिसहरु घरभित्रै बस्दै आइरहेका छन् । संक्रमित थपिँदै गइरहेका कारण लकडाउनको अन्त्य कहिले हुन्छ, त्यो भन्न सक्ने अवस्थामा छैन । देशका अधिकांश स्थानमा कोरोना फैलिसकेको छ । मानिसहरुमा झन् त्रास सिर्जना भएको छ ।

यसरी अझै लकडाउन थपिदै जाने हो भने आर्थिक संकट त बढ्छ नै, मानिसमा विभिन्न किसिमका मानसिक तनावसमेत सिर्जना हुन्छ । तर सरकार वा अन्य कुनै पनि निकायले यस विषयमा खासै चासो दिएको छैन । कोरोना नियन्त्रणका लागि परीक्षण, स्वास्थ्य सामग्री जोरजाम र राहतमै केन्द्रित भइरहेको छ ।

हुन त सबैको आ-आफ्नै विचार र सोचाई हुन्छन् । त्यसैले लकडाउनलाई हरेक व्यक्तिले समान रुपले लिएका हुँदैन । यो समयलाई कतिले अवसरका रुपमा सदुपयोग गरेका छन् त कतिले सास्तीका रुपमा । मान्छेअनुसार भोगाइ र बुझाइ फरक-फरक हुन्छ ।

म आफूले पनि लकडाउनबाट धेरै अनुभव बटुलेको छु । नयाँ कुरा सिक्ने मौका पनि । लकडाउन सुरु भएयता घरभित्रै छु । अरु बेलाजस्तो टाढासम्म गएर रिपोर्टिङ गर्न सक्ने अवस्था छैन । नजिकै भएका घटना वा कार्यक्रम, कि त सञ्चार पहुँचले भ्याउनेसम्म स्थान र विषयमा समाचार लेखिरहेको छु । यसका अलवा अनलाईनमा समाचार पढ्ने, फिल्म हेर्ने, पुस्तक पढ्नेमै दिनहरु कटाइरहेको छु । अधिकांश समय घरभित्रै बिताउने मेरो दैनिक बनेको छ ।

भनिन्छ, धेरै खायो भने चिनी पनि तितो हुन्छ । अरुबेला आराम गर्न नपाउने वा पेशा, व्यवसायको दिनहुँजसो हुने दौडधूपका कारण बेफुर्सदिलो मान्छेलाई यतिबेला महिनौं घरभित्रै बस्नुपर्दा चिनी बढी खाएजस्तै भएको छ । दिक्क लाग्न थालेको छ । लकडाउन कहिले खुल्छ र स्वतन्त्र भइ हिँडडुल गरुँलाझैं भएको छ । यस्तो बेला मनमा एक किसिमका निराशा छाउनु स्वभाविकै पनि हो । बाहिर कतै निस्कौँ भने पनि कोरोना पो सर्ला कि भन्ने डर हुँदोरहेछ ।

त्यसकारण अहिले मलाई पनि पहिलाजस्तै सामान्य महसुस हुन सकिरहेको छैन । मनमा बेचैनी र असुरक्षित महसुस गर्ने मजस्ता लाखौँ छन् नेपालमा । यस्ता विविध कारणले मानसिक असर नहुने कुरै भएन ।

यतिबेला हजारौँ श्रमिकहरुले आफ्नो रोजगारी गुमाएका छन् । जीवन कष्टकर बन्नुका साथै दैनिक गुुजारा गर्न धौ–धौ भएको छ । यसको प्रत्यक्ष अनुभव मैले पनि गरेको छु । म बस्नेनजिक अर्को कोठामा छिमेकी अंकल-आन्टीहरु हुनुहुन्छ । गलैंचा बुन्ने काम गर्ने उहाँहरु रोजगारबिहीन बनेको महिनौँ भइसक्यो । सरकारले उद्योग, कलकारखाना खोल्ने निर्णय त गर्‍यो तर कारखानामा आवश्यक कच्चा पदार्थहरु नहुँदा काम सुचारु हुन सकेको छैन । गलैँचाको धागो नपाएपछि उनको काम ठप्प छ । अहिले उहाँको कोठामा चामल सकिएको छ । चुलो बाल्ने केही विकल्प नहुँदा उहाँलाई तनावमाथि तनाव थपिएको छ । एकातिर भान्सा रित्तिएको पिरलो, अर्कोतिर कोरोना संक्रमण भइहाल्ला कि भन्ने चिन्ता । यस्तै कारणले उहाँलाई मानसिक असर परेको मैले सहजै महसुस गरेँ ।

मेरो छिमेकी अंकल-आन्टीको परिवारजस्तै लाखौँ परिवार पेट भर्नको लागि संघर्ष गरिरहेका छन् । यसले मानिसको मनमा पक्कै चोट पुगेकै छ । लकडाउनले दिन-प्रतिदिन मानिसलाई एक्लो र निराश बनाउँदै लगेको छ । यसका कारण समाजमा विभिन्न प्रकारका घटनाहरु पनि बढिरहेको छ । लकडाउनले मानिसको मनमा डर सिर्जना गरिदिएको छ । आफन्तबाट टाढा बनाइदिएको छ । आफ्नो परिवारबाट अलग भएर बस्नु परेको छ । बनाएका योजनाहरु लकडाउनकै कारण अधुरो बन्न पुगेका छन् ।

महिनौ कोठामा थुनिँदाको तनाव, त्यसमाथि दैनिक गुजारा चलाउन समस्या, परिवार र आफन्त, साथीभाई एवं प्रियजनसँग समय बिताउन नपाउँदाको पीडा । यी कुराहरुले मानसिक असर पर्नसक्छ । आगामी दिनमा धेरै मानिसहरु मानसिक रोगका सिकार हुने अनुमान गर्न सकिन्छ ।

नियमित औषधि सेवन गर्नेहरु अस्पतालमा फलोअपका लागि जान पाएका छैनन् । औषधि छुट्दा स्वास्थ्य स्थिति अझ नाजुक हुने निश्चित छ । यीबाहेक नियमित काममा जान नपाएको कारण मानिसको दैनिक हातमुख जोर्ने माध्यम बन्द भएको छ । नियमित घरखर्च चलाउने उपाय नभएका हरेकको मनमा सुषुप्त किसिमले मानसिक समस्याको विजारोपण भइसकेको छ ।

मजदुर, विपन्न वर्गलाइ सरकारले राहत त दियो । तर त्यो पर्याप्त थिएन । दुई-चार केजी चामल दिएर सान्वना दिनु भनेको घाउलाई कोट्याउनुजस्तै हो । जसले घाउ निको हुनुको साटो झन् बल्झिन्छ । तसर्थ यो समयमा जनताप्रति सरकारको उत्तरदायित्व अझ बढी हुन्छ । जनताको अपेक्षा पनि बढी हुनेगर्छ । हरेक जनताले यस्तो विपदको बेलामा अभिभावकको रुपमा सरकारलाई सम्झने गर्छ । तसर्थ राज्यले पनि एक जिम्मेवार अभिभावकले जस्तै जनतामा आशा र भरोसा सञ्चार हुनेगरी भूमिका निर्वाह गर्नु जरुरी छ ।

प्रकाशित समय १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु