गृहपृष्ठ सिरहामा राहत वितरण विवादमा गोली प्रहार, २० जना घाइते
सिरहामा राहत वितरण विवादमा गोली प्रहार, २० जना घाइते
सिरहामा राहत विषयमा विवाद हुँदा गोली चलेको छ । नरहा गाउँपालिका १ देविपुरमा राहत विषयमा भएको झडपमा उपाध्यक्षका छोराले गोली चलाएको स्थानीयको आरोप छ ।
गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल गम्भीर घाइते भएका छन् । उनको दाहिने कञ्चटमा गोली लागेको बताइएको छ । झडपमा उनको खुट्टा पनि भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
मण्डललाई लगत्तै एम्बुलेन्समा जिल्ला अस्पताल सिरहा लगिएकोमा त्यहाँबाट विराटनगर रिफर गरिएको छ । उनीसँगै झडपमा गम्भीर घाइते भएका थप दुई जना गरी तीन जनालाई विराटनगर रिफर गरिएको हो ।
झडपमा अन्य २० जनाजति घाइते भएको बताइएको छ । नेपाली कांग्रेसतर्फका १२ जना तथा नेकपातर्फका ८ जनाजति घाइते भएका हुन् । जसमा केही महिला र बाँकी पुरुष छन् ।
उनीहरु सबैको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । नेपाली कांग्रेस तथा अन्य पार्टीनिकट स्थानीयहरु राहत वितरणको विषयमा वडाध्यक्ष अशोक साहसँग कुरा गर्न वडा कार्यालय पुगेका थिए ।
राहत वितरणमा काखापाखा भएको भन्दै भनाभनपछि विवाद उग्र बनेर दुई पक्षबीच झडप भएको हो । सोही क्रममा उपाध्यक्षका छोरा अरविन्दले गोली चलाएको स्थानीयको आरोप छ ।
नरहा गाउँपालिकाकी उपाध्यक्ष गुलावदेवी चौधरी र वडाध्यक्ष साह तत्कालीन एमालेबाट निर्वाचित भएका छन् । प्रहरीले भने दुई पक्षीय झडपमा केही व्यक्ति घाइते भए पनि गोली चलेको वा नचलेको बारे पुष्टि हुन नसकेको बताएको छ । ‘गोलीको हल्ला छ, तर पुष्टि भएको छैन,’ सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले भने । घटना विषयमा अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए ।
प्रकाशित समय १८:१८ बजे

















