गृहपृष्ठ उभौली-उधौली पर्वमा साकेला नाच्ने परम्परा कहिलेबाट र कसले सुरूवात गरेको हो ?
उभौली-उधौली पर्वमा साकेला नाच्ने परम्परा कहिलेबाट र कसले सुरूवात गरेको हो ?
रोचक जानकारी : चेली-माइतीको कारूणिक कथा
किरात मुन्दुम(मुन्धुम)मा वर्णन गरिएअनुसार सृष्टिको आरम्भमा चराचर जगतका सृष्टिकर्ता सुम्निमा र पारूहाङले मानव पूर्खा रीभ्याँमा र रीकपा (चेली-माइती) को सृष्टि गरे । जवान भएपछि रीभ्याँमा र रीकपाका बिच विवाह भयो र उनीहरूबाट नायिम्मा र पारहँले जन्म लिए । चेली-माइतीको हाडनातामा विवाह भई सन्तानसमेत जन्मिएपछि पारहँले नायिम्मालाई त्यागेर बँदेलको रूप धारण गरी जंगल पसे । एकदिन उक्त बँदेलले नायिम्माले खोरियामा लगाएको कागुनी खेतीमा पसेर बाली नष्ट गर्न थाल्यो । उसले सकेको जति कागुनी खायो र खान नसके जति थुतुनोले हानेर सबै सखाप पारिदियो ।
आफ्नो कागुनी बालीमा ठुलो हानि-नोक्सानी पुर्याएपछि क्रोधित भएकी नायिम्माले उक्त बँदेललाई पासो थापेर मारिन् र त्यसको मासु केलाएर खाइन् । त्यसपछि उक्त बँदेल पारहँ/सालपा/रूङ्माहँको मानव रूपमा प्रकट भई उनले पुन: नायिम्मासँग विवाह गरे । तत्पश्चात् उनीहरूका बिच चेली-माइतीको सम्बन्ध टुट्यो र पति-पत्नीको पवित्र सम्बन्ध कायम भयो । उनीहरूबाट वाइलुङ्मा नाम गरेकी एक पुत्री र बाघ, भालु एवं मानिसको रूप भएका तीन छोराहरू जन्मिए । आफ्नी आमालाई मारेर खाएको दोषमा जेठो दाजु बाघ र माइलो दाजु भालुलाई कान्छो भाइ मानवले जंगलतर्फ लघारेपछि उनीहरू जंगली जनावरको रूपमा सँधै जंगलमा नै रहे ।
पछि ती मानवको नागरानी नाकिमा/लेहेना र नागराजा नाकिहँ/डिल्लिहँ/पातेनाकी पुत्री राजकुमारी सिकुरिमासँग विवाह भयो । उनीहरूबाट मकुम्बुङ, हर्कम्बुङ र रिप्लबुङ नाम गरेका तीन छोराहरू जन्मिए । त्यसपछि हर्कम्बुङ (किरात)को वंशमा पतेसुङ/दोयम नाम गरेका एक पुत्र जन्मिए । उनको दोलिखमा/दिलिबुङ्मा नाम गरेकी कन्यासँग विवाह भयो । उनीहरूबाट खेवा, ताङवा र चिनवा नाम गरेका तीन छोरीहरू र खक्च्रिक्पा/येचुगुप्पा नाम गरेका एक छोरा जन्मिए । केही समयपछि लेकमा चोयाचित्रा गर्न जाँदा आमा दोलिखमा/दिलिबुङ्मा र बाबु दोयमलाई सोक्पा (वनमान्छे)ले खायो ।
त्यसपछि ती केटा-केटीहरू टुहुरा-टुहुरी भए । लगातार तीन दिदीहरू पछि जन्मिएका खक्च्रिक्पा तेलिया भएका कारण उनका दिदीहरूले जीवनमा अनेक दुख-कष्टहरू झेल्नु पर्यो । कान्छी दिदी चिनवाको भीरबाट लडेर मृत्यु (?) भयो । खक्च्रिक्पा अत्यन्तै सोझो र गोज्याङ्ग्रो पाराका थिए । उनलाई दिदीहरूले जे काम नगर्नू र जे कुरा अरूलाई नभन्नू है भनेर सिकाउँथे उनी त्यही कुरा गरेर दिदीहरूलाई हैरान बनाउँथे । त्यसपछि भाइको व्यावहारबाट आजित भएका दिदी ताङवा र खेवाले भाइ निदाएको बखत सल्लाको खिचेमले छोपी त्यसमाथि टेकेर उनको हत्या गरे र उसको चिहानमा एक कोसो केरा, एउटा कर्द र चिण्डोमा पानी राखिदिएर आफूहरू चराको रूप धारण गरी उत्तर र दक्षिण दिशातर्फ उडेर गए ।

दैवसंयोग खक्च्रिक्पा जीवितै थिए । होस् आएपछि उनले रूँदै कराउँदै आफ्ना दिदीहरूलाई बोलाए तर सुनसान जंगलमा उनलाई सहयोग गर्न कोही आएनन् । उता छिमेकमा बस्ने यगङ्मा/चक्रधम्मा नाम गरेकी एक दुष्ट बुढीले खक्च्रिक्पा जीवितै रहेको कुरा थाहा पाई र उसलाई मार्न अनेक उपाय रची तर उ सफल भइन । उल्टै खक्च्रिक्पाले उसलाई आफ्नो जालमा फसाएर मारे । उनी दिउँसो शिकार खेल्न र माछा मार्न जान्थे र राति केराको घरीमा बास बस्थे । यस्तैमा एक कुटुनी मोमाको सहयोगमा उनको बेहेलिमा नाम गरेकी सुन्दर कन्यासँग विवाह भयो । बेहेलिमा दिलिबुङमाकी छोरी र छुकुहाङ र दावाहाङकी चेली हुन् । उनका मावलीहरू नागाहाङ-सोगाहाङ हुन् ।
यसरी उनीहरू बिच विवाह भयो र उनीहरूबाट एक छोरी जन्मिइन् । त्यसपछि बेहेलिमाले खक्च्रिक्पालाई परिवारका सबैजना अटाउने नयॉ घर बनाउन चिबे चराको पुच्छर जस्तो चोक भएको खाँवो काट्न पठाइन् । घर बनाउने खाँवाहरू काटिसकेर खक्च्रिक्पाले खाँवाहरू गाँड्न डोब तयार पारे र सर्वप्रथम घरको मूल खम्बा गाँड्न लागे । तर उनी एक्लैले मूल खम्बालाई डोबमा पसाउन सकेनन् र बेहेलिमासँग सहयोग मागे । बेहलिमाले उनलाई सहयोग गर्न खोज्दा पिठ्युमा बोकेकी नाबालक छोरी अचानक पछ्यौरीको गाँठो फुस्किएर खाँबाको डोबमा खसिन् र त्यसमाथि घरको मूल खाँबो पर्यो । उनीहरूले खाँबो हटाएर छोरीलाई निकाल्न अनेक प्रयत्न गरे तर सफल भएनन् । केही क्षणमा ती बालिका त्यहीँ अलप भइन् । यसरी नयाँ घरले उनीहरूकी छोरीको भोग खायो ।
सोही लोक मान्यताको आधारमा बेहेलीं तुक्मा नगरी नयॉ घर बनाउन हुँदैन । बनाए नयाँ घरले मान्छेको भोग खान्छ भनिन्छ । यसरी छोरीको भोग खाएपछि उनीहरूको नयाँ घर तयार भयो र उनीहरूले घरपैंचोको तयारी गरे । घरपैंचो गर्दा अनिवार्य रूपमा चेलीहरू चाहिन्छ र त्यसका लागि खक्च्रिक्पाका दुई दिदीहरू जीवितै छन् भन्ने कुरा बेहेलिमालाई पहिल्यै थाहा थियो । तथापि उनीहरूको खोजी गर्न त्यति सहज थिएन । त्यसपछि उनीहरूले चेलीहरूको खोजी गर्न दिन-रात, प्रत्येक घड़ी-पला र भूगोलको बारेमा राम्रो ज्ञान भएका एवं उडेर जहाँ पनि जानसक्ने देपोङवापा र शलिवापा नाम गरेका दुईवटा कुखुराको भालेलाई चेलीहरूको खोजी गर्न पठाए ।
यस्तैमा चेलीहरूको खोजी गर्न देपोङवापा भाले उत्तर दिशा र शलिवापा भाले दक्षिण दिशातर्फ बेग हानेर उडे । लामो उडानपछि उनीहरू चेली खेवा र ताङवाको घर आँगनमा पुगी ‘कुखुरी कॉ … खक्च्रिक्पा हाङपोग’ (कुखुरी कॉ … खक्च्रिक्पा राजा भए है …!) भनेर बास्न लागे । कुखुराको भालेबाट आफ्नो भाइको सु-समाचार सुनेर खेवा र ताङवा अत्यन्त खुसी हुँदै भालेसँगै भाइको घर पुगे । उता आफ्ना चेलीहरूलाई देखेर भाइ-बुहारीको आँखाबाट हर्षका आँशु झरे । यता चेलीहरू पनि आफ्नो भाइले सुन्दरी कन्यासँग विवाह गरी घरजम बसाएको देखेर हर्षविभोर हुँदै भाइ-बुहारीलाई अनेक तरहले आशिर्वाद दिँदै घरको आँगनमा सिली नाच्न थाले ।

आँगनमा सिली नाचिसकेर उनीहरू सिकुवामा चढेर नाचे । त्यसपछि घर भित्र पसी मझेरीमा नाचे र अन्त्यमा घरको उत्तर कुनामा गई आफूले सिली नाच्दा प्रयोग गरेका ढोल, झ्याम्टा, चम्मर, सेउली एवं शिरमा लगाएको शिरफुल र गरगहनाहरू खोलेर चेलीको चिनोस्वरूप माइतीलाई चढाए । त्यसपछि ‘खामाङ’नजिक उभिएर भाइ-बुहारीलाई अनेक तरहले आशिर्वाद दिँदै भन्न लागे- लौ माइतीराजा ! तिमीहरूलाई कुनै गाह्रो, खाँचो परेमा, चसुम(अन्न), छेबेवा(पैसा) चाहिएमा, खेबासु-वाकम्मा (विवाह कार्य) भएमा, कुनै आपत-विपद, झै-झगडा आइपरेमा यही कुनामा आएर हामीलाई सम्झनु र चाहिएको कुरा माग्नु, तिमीहरूलाई जे कुराको आवश्यकता पर्छ सोही कुराको भाव खुल्नेगरी सिली नाच्नु । तिमीहरूलाई के चाहिएको हो हामी उहीँबाट बुझ्छौं र दिनेछौं ।
हाम्रो उमेर डाँडामाथिको घामजस्तै भइसक्यो । अब हामी कति पो बाँचौंला र ? हामी चेली माईतीको अन्तिम भेट यही नै हो । भाग्य जोगले गर्दा बुहारीसँग पनि अनुहार हेराहेर र बोली भेट्न पायौं । बुहारीले पनि सन्तोष मान्नू । तिम्री कान्छी चेली चिनवा पनि जीवितै छन् । उनलाई यो सुखद समाचार सुनाई भाइ-बुहारीलाई उहीँबाटै आशिर्वाद देऊ भन्छौं । लौ है माइतीराजा मन-चित्त नदुखाउनू । राम्ररी बस्नू भन्दै भोज-भतेर खाई माइतीले लगाईदिएको खुर (कोशेली) बोकी गहबाट बर्बरी आँसु झार्दै आ-आफ्नो देशतर्फ लागे । यता भाइ-बुहारी पनि चेलीहरूलाई बिदावारी गरी आँगनको छेउमा बसी चेलीहरूले डाँडा नकाटुन्जेल हेर्दै रूँदै गरे र चेलीहरू डाँडाबाट ओझेल परेपछि घरको काममा लागे ।
सोही मान्यताको आधारमा किरातहरूले घरपैंचोमा खेवा-ताङवा सिली नाच्ने र चाड-पर्वहरूमा चासुम सिली (खेतीपाती सम्बन्धी), नारावा सिली (चराचुरूङ्गी सम्बन्धी), सुम्निमा सिली (कपासको काम र तान, कपडा बुन्ने), तायामा-खियामा सिली (चेली-माईती), पारूहाङ सिली (धनुकाँण हान्ने), वापा सिली (भालेको अभिनय), नाकिमा सिली (सर्प हिँडेको अभिनय), खारी सिली (कोदो खेती सम्बन्धी) आदि अनेक सिलीहरू नाच्न थालिएको हो भन्ने कुरा किरात समाज बोलीले भन्छ ।
(यस लेखका खोज, अनुसन्धान तथा लेखनकर्ता खड्का अरूण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्र नेपाल, बत्तिसपुतली, काठमाण्डौका अध्यक्षसमेत हुन् ।)
प्रकाशित समय १८:१६ बजे

















