गृहपृष्ठ नोटहरू ‘डिसिन्फेक्ट’ गरेरमात्र कारोबार गर्न निर्देशन
नोटहरू ‘डिसिन्फेक्ट’ गरेरमात्र कारोबार गर्न निर्देशन
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई बैंकिङ प्रणालीबाट कारोबार हुने नोटहरू भाइरसरहित (डिसिन्फेक्ट) गरेरमात्र कारोबार गर्न निर्देशन दिएको छ ।
विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी चलिरहेको बेला राष्ट्र बैंकले यो नयाँ निर्देशन जारी गरेको हो । ‘भुक्तानी वा सटही गर्नुपूर्व नोटलाई निश्चित प्रक्रिया अपनाइ जीवाणु तथा भाइरससहित (डिसिन्फेक्ट) गर्नुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
राष्ट्र बैंकले २०६४ चैतको राजाका तस्बिर अंकित नोटहरू विस्तारै चलनचल्तीबाट हटाउँदै जाने निर्णयअनुसार राजाको तस्बिर भएको नोट चलन चल्तीमा नल्याउनसमेत निर्देशन दिएको छ । सफा नोट नीति कार्यान्यन गराउन भन्दै राष्ट्र बैंकले यस्ताे निर्देशन जारी गरेको हो ।
तत्कालै यी नोटहरू प्रतिबन्धित भने हुने छैनन् । सर्वसाधारणले बैंकमा बुझाएका नाेटहरू बैंकमार्फत राष्ट्र बैंकमा खिचेर त्यसलाई पुन: बजारमा नपठाउने पुरानो नीतिअनुसार नै यो निर्देशन दिएको हो ।
अब बैंक तथा वित्तीय संस्थाहरूले एटीएम मेसिनमार्फत् चलन चल्तीमा पठाउने, काउन्टरबाट भुक्तानी गरी चलन चल्तीमा पठाउने र चलन चल्तीमा पठाउन अयोग्य गरी तीन किसिमले नाेटकाे वर्गीकरण गर्नुपर्नेछ । यस्ता नाेटलाई क्रमशः हरियाे, सेतार राताे रङकाे स्लिप लगाइने छ ।
झुत्रिएको, मक्किएको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा बिग्रिने गरी रङ्ग लागेको, च्यातिएको वा पूर्वराजाको तस्वीर अंकित नोटलाई निष्काशनका लागि अयोग्य नोटको रुपमा वर्गीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएकाे हाे ।
प्रकाशित समय २२:०० बजे

















