गृहपृष्ठ पत्रकारलाई देउवाको ढाडस‑ निडर भएर लेख्नोस्, साथमा म छु

पत्रकारलाई देउवाको ढाडस‑ निडर भएर लेख्नोस्, साथमा म छु

sherbahadur_deuba

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारहरूलाई निडर भएर समाचार लेख्न आग्रह गरेका छन् । कांग्रेसनिकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको स्थापना दिवसमा उनले भने, ‘निडर भएर लेख्नोस्, तपाईंहरुका साथमा म छु ।’

लकडाउन भएको दुई महिना पूरा हुँदा पनि पर्याप्त परीक्षण नभएको क्वारेन्टाइन कि गाई गोठ सोध्नुपर्ने स्थिति छ, पर्याप्त स्वास्थ सामग्री छैन, अत्यावश्यक राहतको उचित व्यवस्थापन नभएको, विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कुनै योजना नभएको जस्ता उदाहरण प्रस्तुत गर्दै देउवाले यस्तो स्थितिमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी रहेको बताए ।

‘लकडाउनले समाजका सबै गतिविधि बन्द भएका बेला अनियमितता, बेथिति, भ्रष्टाचार र अलोकतान्त्रिक व्यवहार क्रमशः थप बढ्दै जान सक्ने खतरा देखिएका छन्,’ उनले भने, ‘यस्तो बेलामा मिडियाले खबरदारीको भूमिका अझै बढाउन जरुरी छ ।’

कांग्रेस सभापति देउवाले पत्रकारका लागि सुरक्षा सामग्री व्यवस्था गर्न सरकारसँग आग्रह पनि गरेका छन् । ‘कोरोनाको जोखिमका बेला पत्रकारिताको काम सजिलो छैन, अतः देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य थियो । सरकार यसमा गम्भीर भएन,’ उनले भने, ‘वीरगन्ज, उदयपुरलगायतका ठाउँमा पत्रकारलाई कोरोना संक्रमण देखिएको छ । देशभरका पत्रकारको निःशुल्क परिक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न म सरकारसमक्ष माग गर्नेछु ।’

उनले पत्रकार र मिडिया हाउसका लागि राहत योजना ल्याउन पनि सरकारसँग आग्रह गरेका छन् । ‘श्रमजीवी पत्रकार यो बीचमा कयौं बेरोजगार भएका छन्, विज्ञापन व्यवसायमा असर पर्दा मिडिया हाउसहरु संकटमा परेका छन्, देशभरमा कयौं दैनिक र साप्ताहिक पत्रिका बन्द भएका छन्,’ देउवाले भने, ‘पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्न व्यवस्थित राहत प्याकेज ल्याउन सरकारलाई म आग्रह गर्छु ।’ भ्रष्टाचारको प्रश्न उठाउँदा अस्थिरता फैलाएको आरोप लगाउनु गलत भएको उनले बताए ।

प्रकाशित समय १०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु