गृहपृष्ठ रूकुम पश्चिम युवा हत्या प्रकरण : वडाध्यक्षसहित २० जनाविरुद्ध किटानी जाहेरी
रूकुम पश्चिम युवा हत्या प्रकरण : वडाध्यक्षसहित २० जनाविरुद्ध किटानी जाहेरी
प्रेमिका लिन जाँदा ज्यान गुमाएका नवराज विक (बायाँ) ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा शनिबार तीन जनाको ज्यान जाने गरी भएको घटनाका पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा वडाध्यक्षसहित २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्नेलगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाएका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार पीडितका माग सम्बोधन गर्ने र माग पूरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएका छन् ।
चौरजहारी ८ का टीकाराम सुनारको शव परीक्षण गरिएको छ भने अन्य दुई जनाको आज परीक्षण गरिनेछ । बेपत्ता तीन जनाको खोजी भइरहेको छ । खोजीमा स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान संलग्न छन् । भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक बेपत्ता छन् ।
भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारी ८ का सुनारको शव यसअघि नै फेला परिसकेको छ । घटनाको अनुसन्धानका लागि रुकुम प्रहरीले प्रहरी निरीक्षक कवि रोकालाई खटाएको छ । वडाध्यक्षसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
प्रकाशित समय १०:३६ बजे

















