गृहपृष्ठ भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोनाको आशंकामा सेवा बन्द

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोनाको आशंकामा सेवा बन्द

भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका- ३ घर भई हाल चाँगुनारायण नगरपालिका- ३, झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो ।

सुत्केरी भएको आधा घण्टापछि मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण रहेको आशंकाले अस्पतालको सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । महिलालाई खोकी लागेको र श्वासप्रश्वासमा पनि समस्या रहेको पाइएको अस्पतालका स्वास्थ्यकर्मीले जनाएका छन् । महिलाको आरडिटी परीक्षणमा कोरोना भाइरस पोजेटिभ आएको थियो ।

मृत्युपछि कोरोनाको आशंकामा आइतबार राति करिब ९ बजे स्वाब लिइ पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा. सुमित्रा गौतमले सुत्केरी महिलाको मृत्यु भए पनि पीसीआर रिपोर्ट नआएसम्म केही भन्न नसकिने जानकारी दिइन् । उनले अस्पतालमा भने विशेष सजगता अपनाएको बताइन् ।

अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले मृतक महिलाले नियमित रुपमा केएमसी अस्पताल सिनामंगलमा स्वास्थ्य परीक्षण गराउँदै आएको पाइएको जानकारी दिए । चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई कोरोना संक्रमण भएपछि यहीँ २० गतेदेखि नै त्यहाँको सेवा बन्द भएकाले सुत्केरी हुन भक्तपुर अस्पताल आएको पाइएको वडाध्यक्ष सुवालले बताए ।

महिलाको शव अस्पतालको प्रसूति वार्डमा नै राखिएको छ भने बच्चा भने स्वस्थ रहेको अस्पतालले जनाएको छ । (रासस)

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु