गृहपृष्ठ १९ घण्टापछि संक्रमितको शव व्यवस्थापन : स्थानीय र प्रहरीबीच झडप, १८ जना पक्राउ
१९ घण्टापछि संक्रमितको शव व्यवस्थापन : स्थानीय र प्रहरीबीच झडप, १८ जना पक्राउ
कोरोनाभाइरस (कोभिड- १९) को संक्रमणबाट मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिका- ३ का ६० वर्षीय एक पुरुषको शव १९ घण्टापछि व्यवस्थापन गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचारको क्रममा आइतबार राति ११ः२५ बजे निधन भएका उनको शव जातीय संस्कारअनुसार साँझ ६ः३० बजे अन्तिम संस्कार गरिएको हो ।
पोखरा महानगरपालिका- ११ स्थित सेती नदी किनारको रिठ्ठाघाटमा शव गाडिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । संक्रमितको शव ल्याउन लागिएको जानकारी पाएपछि दिउँसोदेखि नै वडा नं ११ फूलबारी र वडा नं २० का स्थानीयवासी विरोधमा उत्रिएका थिए । विरोधमा उत्रिएका स्थानीवासी र प्रहरीबीच झडप हुँदा वडा नं ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलासहित केही स्थानीयवासी तथा प्रहरी समेत घाइते भएका छन् । केहीलाई प्रहरीले पक्राउ गरेको थियो । फूलबारी तथा भलाम दुवैतर्फका स्थानीयलाई रोक्नका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी इन्स्पेक्टर नरहरि अधिकारीले शव व्यवस्थापनका क्रममा अवरोध गर्ने र ढुंगामुढा गर्ने १८ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीतर्फ पनि चार जना घाइते भएको बताइन्छ । शव व्यवस्थापनका लागि पोखरा महानगरपालिकाले बिहान वडा नं १५ स्थित हरियोखर्कमा खाडल तयार गर्न लागेकामा स्थानीयले एक्साभेटर फिर्ता पठाएका थिए ।
रिठ्ठाघाटमा व्यवस्थापनको तयारी गरिएपनि विरोध भएपछि लामो समय शव अस्पतालको आइसोलेसनमा राखिएको थियो । वडा नं ११ का वडाध्यक्ष बास्तोलाले शव व्यवस्थापनका लागि महानगरले वडासँग कुनै समन्वय नगरेको र एक्कासी यहाँ ल्याउने जानकारीपछि विरोध गरिएको बताए । कोभिड- १९ का कारणले मृत्यु भएकाहरुको शव व्यवस्थापन कार्यविधि अनुसार शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई रहेको छ भने जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहले व्यवस्थापन स्थलको खोजी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रकाशित समय २२:०५ बजे

















