गृहपृष्ठ सरकार देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ : विप्लव
सरकार देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ : विप्लव
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर सरकारले देशको हितमा एक कदम अघि बढेको बताएका छन् ।
विप्लवले आइतबार एक वक्तव्य जारी गर्दै जनमत र संघर्षको दबावमा परेर वर्तमान सरकार अतिक्रमित भूभागहरु समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको उल्लेख गरेका छन् । ‘भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसविरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, वुद्धिजीवी, क्रान्तिकारी शक्तिहरुले निरन्तर संघर्ष गर्दै आएका छन् । उक्त जनमत र संघर्षको दबावमा परेर केपी ओली सरकार २०७७ जेठ ३१ गते उक्त भूभागहरु समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको छ । तथापि सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूभाग निशान छापमा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव शनिबार सर्वसम्मतले पारित भएको थियो ।
हेर्नुहोस् विज्ञप्ति :

प्रकाशित समय ११:४५ बजे

















