गृहपृष्ठ डीसीए नेपालद्वारा २ करोड १० लाख बराबरको खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग
डीसीए नेपालद्वारा २ करोड १० लाख बराबरको खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग
डेनमार्कस्थित गैह्रसरकारी संस्था डीसीए नेपालले स्थानीय संस्थाहरुको सहकार्यमा दुई चरण गरेर विभिन्न जिल्लामा करिब २ करोड १० लाख रूपैयाँ बराबरको राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
संस्थाले हालसम्म कञ्चनपुर, बर्दिया, बाँके, दैलेख, कैलाली, डोटी, अछाम, धादिङ र गोरखा जिल्लाका ४ हजार १ सय ३४ परिवारलाई स्थानीय सरकारले तोके बमोजिमको खाद्य सामग्री वितरण गरिसकेको छ । त्यस्तै २ हजार ८८ परिवारलाई थप स्वच्छता सामग्री सेट (हाइजिन किट) पनि हस्तान्तरण गरिएको छ । कञ्चनपुरमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि घिउ, सुजी, अण्डा, बदाम, काजुजस्ता पौष्टिक आहारहरु पनि वितरण गरेको डीसीएले जनाएको छ ।
विभिन्न स्थानीय तहहरुको समन्वयमा ३३ वटा क्वारेन्टिनका लागि बेड बनाउन चाहिने सामग्री तथा स्वास्थ्य सामग्रीहरु पनि वितरण गरेको छ । यसका साथै डीसीएले जनस्वास्थ्य संस्था तथा जिल्ला अस्पताल गरी २७ वटा स्वास्थ्य केन्द्रलाई आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ । विभिन्न जिल्लामा रहेका स्थानीय संस्थाको समन्वयमा डीसीए नेपालले हालसम्म १७५ पीपीई सेट, ८४ पीपीई गाउन, ९९ थर्मल गन, ८६५ लिटर स्यानिटाईजर, २६५ प्याकेट ग्लोभ्स, १९,६०० साबुन, २५,८४५ सर्जिकल मास्क, १४३५ एन-९५ मास्कलगायत सामग्री वितरण गरको हो । यी सामाग्रीसँगै दैलेख र अछामका केही क्वारेन्टिनमा संस्थाले खानाको व्यवस्था पनि गरेको थियो ।

स्थानीय सरकारको नेतृत्वमा आवश्यकता रहेको स्थानहरु पहिचान गरी यी सामग्रीहरु हस्तारण गरिएको डीसीएको नेपालस्थित कार्यलयका मानवीय सहायता तथा विपद् जोखिम न्युनीकरण व्यवस्थापक दिनेश गुरुङले बताए । ‘पछिल्लो सहयोगभन्दा यसपालि लम्बिँदै गरेको लकडाउनले गर्भवती तथा सुत्केरीहरुलाई पर्न गएको अप्ठेरोलाई मध्यनजर गरेर हामीले पौष्टिक आहारहरुको पनि व्यवस्था गरेका थियौं,’ उनले भने ।
थप सहयोगका लागि डीसीए नेपालसँग समन्वय भइरहेकाे स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन् । ‘यो विषम परिस्थितिमा गैह्रसरकारी संस्थाहरुको सहकार्य अपरिहार्य छ,’ बेलडाँडी गाऊँपालिकाका अध्यक्ष धनबहादुर थापाले भने, ‘आवश्यकता अनुसार वहाँहरुसँग समन्वय गर्दै सहयोग अगाडि बढाईरहेका छौं ।’
राहत तथा स्वास्थ्य सामग्रीका साथै डीसीएले कोरोनाभाइरसबारे तयार गरेको जानकारीमुलक पुस्तिका पनि वितरण गरेको थियो । त्यसैगरी स्थानीय १० रेडियोहरुसँगको सहकार्यमा ‘साझेदारी’ नामको रेडियो कार्यक्रम पनि उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । जसमा स्थानीय सरकारसँग जनताका गुनासाहरु, मनोसामाजिक परामर्शजस्ता कार्यक्रमहरु प्रसारण भइरहेको छ ।


प्रकाशित समय १८:१३ बजे

















