गृहपृष्ठ सरिता गिरी सांसद र पार्टीको साधारण सदस्य नरहने
सरिता गिरी सांसद र पार्टीको साधारण सदस्य नरहने
समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीको निर्णय बेवास्ता गर्दै आफू खुसी निर्णय गरेको भन्दै समाजवादी पार्टीले कारबाही प्रक्रिया अगाडी बढाएको छ ।
शनिबार सरकारले ल्याएको संविधान संशोधन विधेयकमा जनता समाजवादी पार्टीले समर्थन गर्दै मतदान गर्ने निर्णय उलंघन गरेर उल्टै संविधान संशोधनको विधेयक दर्ता गरेको र फिर्ता लिन आग्रह गर्दा पनि अटेरी गरेको भन्दै समाजवादी पार्टीले कारबाही गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयकमाथि छलफल भइरहेको बेलामा सांसद गिरीको प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत भएको घोषणा गरेपछि गिरीले संसद बहिस्कार गरेकी थिइन । बाहिर कुरा राख्न नदिइएको भन्दै पत्रकारहरूसँग दुखेसो उनले पोखेकी थिइन् ।
पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पार्टीको निर्णयभन्दा बाहिर गएको हुँदा सांसद गिरीलाई कारबाही गर्नैपर्ने आफ्नो फेसबुक स्ट्याटसमा लेख्दै आएका छन् । समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई गोरखा र उपेन्द्र यादव विराटनगरबाट काठमाडौं आउने वित्तिकै उनलाई कारबाही गर्ने जसपा स्रोतले जनाएको छ ।
राजपा र समाजवादी पार्टी एकीकरण भए पनि एकताको सम्पूर्ण प्रक्रिया अगाडी नबढेको हुँदा समाजवादी पार्टीले नै सांसद गिरीलाई कारबाही गर्ने निर्णय गरेको हो ।
पार्टीको निर्णयमा फरक मत राख्ने गिरीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाइने बताइएको छ । पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाएमा सांसद पद पनि स्वतः निलम्वन हुने प्रावधान छ ।
संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने उल्लेख गरिएको छ ।
प्रकाशित समय १२:२३ बजे

















