गृहपृष्ठ बजेटले कर्णाली र सुदूरपश्चिमलाई न्याय गर्न नसकेको गुनासो
बजेटले कर्णाली र सुदूरपश्चिमलाई न्याय गर्न नसकेको गुनासो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदले पछाडि परेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आगामी आवको बजेटले पनि न्याय गर्न नसकेको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शिर्षकमध्ये ११ मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा सहभागी हुँदै सत्तारुढ दलका सांसद महेशकुमार महराले आगामी आवमा पनि कर्णाली र सुदूरपश्चिममा न्यायोचित र सन्तुलित बजेट विनियोजन नभएको बताए ।
कर्णाली र सुदूरपश्चिमको विकास बिना ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना गर्न नसकिने भन्दै उनले विगतदेखि पछाडि पारिएको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आगामी आवको विनियोजन विधेयकले पनि उचित ध्यान दिन नसकेको गुनासो गरे ।
‘महाकाली कोरिडोरका लागि पहिलो वर्ष पनि ३२ करोड, चालू आवमा पनि ३२ करोड र आगामी आवका लागि पनि ३२ करोड रूपैयाँ विनियोजन गरिएको छ । यो आयोजना कहिले सम्पन्न हुन्छ, अध्यक्ष महोदय ?’, पछिल्लो तीन वर्षको बजेटको दृष्टान्त पेश गर्दै उनले भने, ‘त्यतिमात्र होइन, विपीनगर-दिपायल-खुटिया सुरुङ मार्ग निर्माण गर्न तीन आवमा ५०/५० लाख विनियोजन गरिएको छ, यसको सम्भाव्यता अध्ययन कहिलेसम्म गरिसक्ने ?’
सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा ति आयोजना कहिले ठेक्का लाग्ने र कहिले सम्पन्न हुने हो भन्ने अन्योलता छाएको उनले बताए । ‘बजेटको रुपमा हेर्दा केही सम्बोधन गरेको जस्तो देखिएको छ,’ उनले भने, ‘तर केलाएर हेर्दा सार पक्षमा विगत र वर्तमानमा केही फरक पाइएन ।’
नेकपाकै नन्दा चपाईंले बजेट विगतजस्तै भएको र कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको विकासलाई ध्यान नदिएको टिप्पणी गरिन् । उनले भनिन्, ‘बजेट असन्तुलित र मन्त्री केन्द्रित छ । आफ्नै पार्टीको सरकार छ, दुःखका साथ भन्नुपर्छ, ‘मुटु माथि ढुंगा राखी हास्नु पर्या छ ।’
नेकपाकै सांसद भैरवसुन्दर श्रेष्ठले भने सडक पूर्वाधार विकासमा बजेटले पर्याप्त ध्यान दिएको र विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशलाई बजेटले न्याय गरेको बताए । ‘कर्णाली प्रदेश, राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ, भेरी करिडोर र कर्णाली करिडोरलाई भौतिक मन्त्रालयले विशेष बजेट विनियोजन गरेको छ । पूर्वपश्चिम राजमार्गलाई एसियाली मापदण्ड (चार लेन) को बनाउन बजेट विनियोजन हुनु सुखद पक्ष हो,’ उनले भने ।
नेकपाका अगमप्रसाद बान्तवा राईले बजेट समग्रमा राम्रो भए पनि यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । सोही पार्टीका खिमकुमार विकले बजेट केही कुरामा प्रभावमुखी रहे पनि समग्रमा सन्तुलित र समय सान्दर्भिक रहेको बताए । उनले कर्णालीको विकास र समृद्धिलाई बजेटले प्राथमिकता दिएको भन्दै बजेट कार्यान्वयनका लागि क्रियाशिल पूँजीगत क्षमता वृद्धि गरिनुपर्नेमा जोड दिए ।
नेकपाका कविता बोगटीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा न्यायोचित बजेट विनियोजन भएको तथा एकल महिलाको सामाजिक सुरक्षा, सडक बालबालिकाको संरक्षणलगायत क्षेत्रमा पनि बजेटले सम्बोधन गरेको उल्लेख गरिन् । सोही पार्टीका नैनकला ओझाले समृद्धिको आधारको रुपमा रहेको भौतिक पूर्वाधारका लागि पर्याप्त बजेट विनियोजन भएको बताइन् । उनले रेल र पानी जहाजको कुरा उठेको लामो समय भइसकेकाले अब बजेटमार्फत ती आयोजनाले सार्थकता पाउनुपर्नेमा जोड दिइन् ।नेकपाकै रामलखन चमारले समृद्ध नेपाल सुखी नेपालीको चाहनालाई सार्थक बनाउने गरी बजेटमा व्यवस्था भएको उल्लेख गरे ।
राष्ट्रियसभाको अर्को बैठक यही असार २ गते बिहान ११ बजे बस्ने तय भएको छ ।
प्रकाशित समय १४:०७ बजे

















