गृहपृष्ठ भारतीय रक्षामन्त्रीले भने- नेपालसँगको विवादलाई वार्ताबाटै टुंग्याउँछौं
भारतीय रक्षामन्त्रीले भने- नेपालसँगको विवादलाई वार्ताबाटै टुंग्याउँछौं
'सीमामा काँडेतार लगाए पनि हाम्रो सम्बन्ध अटुट रहनेछ'
भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीच अहिले देखिएको विवादलाई वार्ताबाटै टुंगोमा पुर्याउने बताएका छन् । नेपालको सुदूरपश्चिम प्रदेशसँगै जोडिएको उत्तराखण्डवासीलाई सोमबार सम्बोधन गर्दै सिंहले नेपालसँग रहेको ‘रोटी-बेटी’ को सम्बन्धलाई विश्वको कुनै शक्तिले तोड्न नसक्ने उल्लेख गरेका छन् ।
‘पहिले श्रद्धालुलाई मानसरोवर जान नाथुला पास मार्ग छिचोल्नु पर्थ्यो । यो एकदमै लामो बाटो थियो तर अब सीमा बनेको सडकले लिपुलेकसम्म एक लिंक मार्ग बनाएको छ’, सम्बोधनका क्रममा उनले भने, ‘जसले मानसरोवर यात्राका लागि नयाँ मार्ग खुलेको छ । यो ८० किलोमिटर लामो सडक भारतीय क्षेत्रमै बनेको छ । यस मार्गलाई लिएर नेपाललाई यदि केही शंका र समस्या भएको हो भने वार्ताबाटै सुल्झाउन हामी तयार छौं ।’ उत्तराखण्डको पिथौरागढ हुँदै नेपालस्थित दार्चुलाको करिब ३० किलोमिटर भूमि हुँदै निर्माण गरिएको सडक भिडियो कन्फ्रेन्समार्फत उनैले उद्घाटन गरेका थिए ।
भारत र नेपालबीच असाधारण सम्बन्ध रहेको उनले बताए । ‘हामीबीच रोटी-बेटीको सम्बन्ध छ । र, विश्वको कुनै पनि शक्तिले यसलाई तोड्न सक्दैन । सीमामा कसैले काँडेतार लगाए पनि हाम्रो सम्बन्ध अटुट रहनेछ,’ उनले भने ।

प्रकाशित समय १५:१२ बजे

















