गृहपृष्ठ क्वारेन्टिनको बेथितिमा सरकारले आफ्नो अनुहार हेर्न जरूरी छ : नेपाली कांग्रेस
क्वारेन्टिनको बेथितिमा सरकारले आफ्नो अनुहार हेर्न जरूरी छ : नेपाली कांग्रेस
प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाउने कार्यक्रम तय
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्वारेन्टिनको बेथितिमा आफ्नो अयोग्यताको अनुहार हेर्न सरकारलाई अनुरोध गरेको छ । मापदण्ड विपरीतका अव्यवस्थित क्वारेन्टिनहरू कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएको कांग्रेसको आरोप छ ।
सोमबार कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कैलालीको एक क्वारेन्टाइनमा बलात्कारको घटना भएको समाचार अत्यन्तै निन्दनीय र गम्भीर छ । घटनामा जोकोही सामेल हुन्, विनाकुनै मोलाहिजा कडा कारबाही गर्न नेपाली कांग्रेस माग गर्दछ । कैलालीको घटनामा दोषीलाई कानूनी कारबाही सँगसँगै क्वारेन्टनहरुको बेथितिमा सरकारले आफ्नो अयोग्यताको अनुहार हेर्न जरुरी छ ।’
‘अव्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टिनबाट नागरिक भागेका छन् । क्वारेन्टिना सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको छ र अन्तत बलात्कार सम्मको घटनाले कम्युनिष्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको छ,’ कांग्रेसले भनेको छ ।
‘हामीसँग ३ तहका सरकार छन् तर क्वारेन्टिनमा एउटा चेलीको रक्षा गर्न असमर्थ बन्छन् भने यो भन्दा लज्जास्पद घटना अर्को के हुनसक्छ ? क्वारेन्टिनको व्यवस्थापन र सुरक्षा सम्बन्धमा गम्भीर लापरबाही गर्नेहरुको नैतिक जिम्मेवारी यो घटनामा गाँसिन्छ कि गाँसिन्न ? बलात्कारमा सामेललाई कानूनी कारबाहीसँगै यो घटनाको गम्भीर समीक्षा गरेर राज्यको जिम्मेवार पदमा रहेर गैह्रजिम्मेवार बन्नेहरुलाई दोषको मात्रा अनुरुपको विविध कारबाही गर्न नेपाली कांग्रेस माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
क्वारेन्टिनका बेथितिहरु समेतका विरुद्धमा दबाव दिन कांग्रेसले असार २ गते स्वदेश र विदेशबाट एकसाथ प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।
प्रकाशित समय १७:२२ बजे

















