गृहपृष्ठ विश्वभर कोरोना संक्रमित ४३ लाख डिस्चार्ज, ३५ लाखको उपचार हुँदै

विश्वभर कोरोना संक्रमित ४३ लाख डिस्चार्ज, ३५ लाखको उपचार हुँदै

एकै दिन थपिए एक लाख ४२ हजार संक्रमित, मृतकको संख्या चार लाख ४५ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमित करिब ४३ लाखले कोरोना भाइरस जितेका छन् । गएको २४ घण्टामा मात्रै एक लाख २ हजार ९२९ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या ४२ लाख ९९ हजार ९१० पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर ८२ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै विश्वभर एक लाख ४२ हजार ५४६ जना संक्रमित थपिएपछि संक्रमितको संख्या ८२ लाख ५१ हजार २१३ पुगेको हो ।

भाइरसका कारण ज्यान गुमाउनेको संख्या पनि ४ लाख ४५ हजार पुगेको छ । एकै दिनमा ६ हजार ५९२ जना संक्रमितले ज्यान गुमाएपछि मृत्यु हुनेको संख्या चार लाख ४५ हजार १८८ पुगेको हो । त्यस्तै ३५ लाख ६ हजार ११५ जनाको उपचार भइरहेको छ । त्योमध्ये पनि ५४ हजार ४६९ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

विश्वभर सबैभन्दा धेरै फैलिएको अमेरिकामा गएको २४ घण्टामा २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ८४९ जनाको ज्यान गएको छ । अहिलेसम्म अमेरिकामा २२ लाखभन्दा बढी संक्रमित थपिएका छन् भने एक लाख १९ हजारभन्दा बढीको ज्यान गएको छ ।त्यस्तै ब्राजिलमा संक्रमितको संख्या ९ लाख २८ हजार नाघेको छ ।

गएको २४ घण्टामा मात्रै ब्राजिलमा ३७ हजारभन्दा बढी संक्रमित थपिएका छन् । त्यस्तै ४५ हजार ४५६ जनाले ज्यान गुमाएका छन् । रसियामा पनि संक्रमितको संख्या बढेको छ । अहिलेसम्म रसियामा ५ लाख ४५ हजारभन्दा बढी व्यक्तिमा भाइरस देखिएको छ भने सात हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

 

प्रकाशित समय ०८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु