गृहपृष्ठ प्रधानसेनापति र सशस्त्रका आइजीपीद्वारा कालापानी क्षेत्रको निरीक्षण

प्रधानसेनापति र सशस्त्रका आइजीपीद्वारा कालापानी क्षेत्रको निरीक्षण

प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालको टोलीले दार्चुलामा स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) र सेनाको अस्थायी बेस क्याम्प निरीक्षण गरेका छन् ।

उनीहरूले भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीनजिकै स्थापना गरिएको सशस्त्र प्रहरीको (बीओपी) र सेनाको अस्थायी बेस क्याम्पको निरीक्षण गरेका हुन् । प्रधानसेनापति थापा र आइजीपी खनालको टोलीमा नेपाली सेना सुदूरपश्चिम पृतनापति उपरथी निर्मलकुमार थापा, सशस्त्र प्रहरी सुदूरपश्चिम बाहिनीपति सशस्त्र प्रहरीका डीआइजी हरिशंकर बुढाथोकी, नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख डीआइजी उत्तमराज सुवेदी सहभागी थिए ।

टोलीले ब्यास घाँटी बगड इलाका सशस्त्र प्रहरीको बीओपी रहेको गागा क्षेत्रको निरीक्षण गरेका छन् । उनीहरु काठमाडौंबाट धनगढीसम्म चार्टर विमान र धनगढीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत दार्चुला पुगेका हुन् । सशस्त्र प्रहरीको बीओपीभन्दा ३ किलोमिटर वरसम्म उनीहरुले सीमाको निरीक्षण गरेको नेपाली सेना श्रोतले जनाएको छ ।

कालापानी क्षेत्रकाे निरीक्षणपछि फर्किएको टोली अहिले दार्चुला सदरमुकाम खलंगास्थित नेपाली सेनाकाे दुर्गादल गुल्ममा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखरू, राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिरहेको छ । यसपछि प्रधानसेनापति र आइजीपी सहितको टोली कैलालीकाे गोदावरी नगरपालिकास्थित सेनाको तेघरी ब्यारेक आउने कार्यक्रम रहेको बताइएको छ ।

गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस क्याम्प स्थापना गरेको थियो ।

प्रकाशित समय १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु