गृहपृष्ठ भारत-चीन भिडन्तप्रति राष्ट्रसंघद्वारा चासो र चिन्ता व्यक्त
भारत-चीन भिडन्तप्रति राष्ट्रसंघद्वारा चासो र चिन्ता व्यक्त
गत सोमबार राति भारत-चीन सीमा क्षेत्र लद्दाखमा दुई देशका सेनाबीच भएको भिडन्तको घटनाप्रति संयुक्त राष्ट्रसंघले चासो र चिन्ता व्यक्त गरेको छ । विवादित सीमा क्षेत्रलाई लिएर पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी भारत र चीनबीच भिडन्त भएको हो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले दुवै पक्षलाई अति संयम अपनाउन आग्रह गरेका छन् । लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भएको भिडन्तप्रति चासो व्यक्त गर्दै भावी दिनमा अति सावधानी अपनाउन महासचिव गुटरेसको आग्रह छ ।
‘भारत र चीनबिचको एलएसीमा भएको भिडन्त र सैनिकको ज्यान गएको घटनाप्रति हाम्रो गम्भीर चासो छ । हामी दुवै पक्षलाई अति संयमता अपनाउन आग्रह गर्छौं,’ महासचिव गुटरेसको भनाइ उद्धृत गर्दै उनका सहायक प्रवक्ता एरी कानेकोले भनेका छन् ।
पूर्वी लद्दाखको गलवान उपत्यकाको सीमा क्षेत्रमा भएको भिडन्तमा भारतीय सेनाका एक कमाण्डिङ अफिसरसहित २० जनाको ज्यान गएको हो ।
प्रकाशित समय १३:१६ बजे

















