गृहपृष्ठ एकै दिनमा थपिए एक लाख ६० हजार कोरोनाका बिरामी, संक्रमितको संख्या ९३ लाख नाघ्यो
एकै दिनमा थपिए एक लाख ६० हजार कोरोनाका बिरामी, संक्रमितको संख्या ९३ लाख नाघ्यो
५० लाख ३६ हजार ६७४ जनाको सफल उपचार, ५७ हजार ९१२ जनाको अवस्था चिन्ताजनक
विश्वभर एकैदिनमा एक लाख ६० हजारभन्दा बढी कोरोनाका बिरामी थपिएका छन् । मंगलबारमा मात्रै एक लाख ६० हजार ६९८ जनामा संक्रमण देखिएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९३ लाख ४३ हजार २७३ पुगेको छ भने ज्यान गुमाउनेको संख्या चार लाख ७८ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै पाँच हजार ४३६ जनाले ज्यान गुमाएपछि मृत्यु हुनेको संख्या चार लाख ७८ हजार ९२० पुगेको हो ।
संक्रमितमध्ये ५० लाख ३६ हजार ६७४ जनाको सफल उपचार भएको छ भने ३८ लाख २७ हजारभन्दा बढी व्यक्तिको उपचार भइरहेको छ । त्यस्तै उपचाररतमध्ये नै ५७ हजार ९१२ जनाको अवस्था भने चिन्ताजनक रहेको छ ।
सबैभन्दा बढी भाइरस फैलिएको अमेरिकामा संक्रमितको संख्या २४ लाख २४ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ३५ हजार ९९१ जनामा भाइरस देखिएपछि संक्रमितको संख्या २४ लाख २४ हजार १४४ पुगेको हो । त्यस्तै एक लाख २३ हजार ४७३ जनाले ज्यान गुमाएका छन् ।
उपचारपछि निको हुने संक्रमितको संख्या पनि निकै बढेको छ । अमेरिकामा अहिलेसम्म १० लाख २० हजार संक्रमितको उपचार सफल भएको छ भने १२ लाख ८० हजार संक्रमितको उपचार भइरहेको छ ।
ब्राजिलमा कोरोना संक्रमितको संख्या ११ लाख ५१ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ४० हजार १३१ जना संक्रमित थपिएपछि ब्राजिलमा संक्रमितको संख्या ११ लाख ५१ हजार ४७९ पुगेको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि एकै दिनमा एक हजार ३६४ थपिएपछि ज्यान गुमाउनेको संख्या ५२ हजार ७७१ पुगेको हो ।
प्रकाशित समय ०७:१० बजे

















