गृहपृष्ठ मेसीको जन्मदिन मनाउने १५ जनालाई जरिवाना
मेसीको जन्मदिन मनाउने १५ जनालाई जरिवाना
महामारीको समयमा लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बगलादेशका १५ नागरिकलाई जरिवाना गरिएको छ ।
भारतीय सीमास्थित सहर डामुरहुदामा रहेको एक क्याफेमा लकडाउनको उल्लंघन गरी १७ वर्षदेखि ३२ वर्ष उमेर समूहका मेसीका शुभेच्छुकहरूले उनको ३३औँ जन्मदिन मनाइरहेका समय बुधबार स्थानीय प्रशासक, कानूनी अधिकारी तथा प्रहरीले छापा मारेको थियो । बंगलादेशमा अर्जेन्टिनी स्ट्राइकर मेसीलाई विश्वकै नमूना खेलाडी मान्ने प्रशंसकहरूको ठूलो संख्या रहेको बताउने गरिएको छ ।
क्याफेमा जन्मदिन मनाइरहेका ती व्यक्तिहरूलाई क्याफेबाहिर पुगेको घुम्ती (मोबाइल) अदालतमा उपस्थित गराई प्रतिव्यक्ति १०० टाका (करिब १.१५ अमेरिकी डलर) जरिवाना गरिएको न्यायाधीश फिराज हुसेनले बताए । उनका अनुसार महामारीमा भेला भै निषेधित गतिविधि सञ्चालन गरेको आरोपमा क्याफेलाई ७० अमेरिकी डलर जरिवाना गरिएको छ ।
उनीहरूले सामाजिक दूरी कायम गर्नुपर्ने राज्यको नियम उल्लंघन गरेको र साँझमा घरबाहिर (क्याफे)मा भेला भई लकडाउन आदेशको उल्लंघन गरेकोले जरिवाना गरिएको हो, हुसेनले बताए ।
बंगलादेशको सरकारले गत मार्चदेखि जारी लकडाउनको घोषणालाई क्रमश सहज बनाउँदै गएको छ । यद्यपि सामाजिक दूरी कायम गर्ने कुरालाई भने कडाइसाथ पालना गर्न आग्रह गरिएको छ ।
बंगलादेशमा फुटबल निकै लोकप्रिय खेल मानिने गर्छ । तर राष्ट्रिय टोली तथा खेलाडीहरूले विश्वव्यापीरूपमा व्यवसायिक खेलहरूमा खासै स्थान लिन नसक्दा यहाँका खेलप्रेमीहरूले आफ्नो समर्थन र माया विदेशी समूह वा खेलाडीलाई दिने गर्छन् ।
मेसीको जन्मदिनको पार्टी गरिएको ‘वल्ड टाउन कफी हाउस’ का मालिक जाहिदुल अलामले आफूले जरिवाना तिर्नुपरेको स्वीकार गर्दै यो बंगलादेशी फुटबल फ्यानका लागि सहयोग भएको बताए । युवाहरूले मेसीको जन्म दिनको खुशियाली मनाइरहेका समय आफूले उनीहरूलाई बलपूर्वक घर फर्काउन नसकेको अलामले बताए ।
प्रकाशित समय १८:४३ बजे

















