गृहपृष्ठ सुदूरपश्चिममा कोरोना : संक्रमित थपिँदै, परीक्षणको दायरा खुम्चिँदै

सुदूरपश्चिममा कोरोना : संक्रमित थपिँदै, परीक्षणको दायरा खुम्चिँदै

२८ हजार क्वारेन्टिनमा, तीन हप्तासम्म पनि आउँदैन रिपोर्ट, दैनिक २५० को मात्र परीक्षण

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । हालसम्म संक्रमितको संख्या १६ सय नाघेको छ । क्वारेन्टिनमा बस्नेको संख्या घटे पनि संक्रमणको अवस्था भने विकराल बन्दै गएको छ ।

प्रदेश सरकारले भने परीक्षणको दायरा फराकिलो बनाउन सकेको छैन । अहिले प्रदेशमा दैनिक रूपमा २५० देखि तीन सयसम्म मात्रै परीक्षण भइरहेको छ । परीक्षणको गति बढाउन नसकिँदा संकलित स्वाबहरू परीक्षणका लागि काठमाडौं पठाइँदै छ ।

धमाधम स्थानीय तह सिल हुँदै

संक्रमितको संख्या दिनहुँ बढ्न थालेपछि जनस्तरमा संक्रमण फैलिने खतरा बढेको छ । यही जोखिमलाई मध्यनजर गर्दै यहाँका धेरै स्थानीय तह कोरोनाबाट बढी प्रभावित क्षेत्रलाई सिल गर्न थालेका छन् ।

भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरूको स्वाब संकलन गरेको तीन हप्ता हुँदासमेत रिपोर्ट नआएपछि घर पठाएका व्यक्तिमा कोरोना पोजेटिभ देखिन थालेको छ । स्थानीय तहले पनि प्रभावित क्षेत्रलाई सिल गर्न थालेका छन् । हालसम्म सुदूरपश्चिमका पाँच स्थानीय तहहरु सिल गरिएका छन् ।

कोरोनाको जोखिम उच्च रहेको भन्दै कैलालीको गोदावरी र गोरीगंगा नगरपालिका सिल छन् भने डडेल्धुरामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लालाई नै सिल गरिएको छ । उता बैतडीको पाटन र दशरथचन्द पनि सिल गरिएको छ ।

कोरोना संक्रमितलाई रिपोर्ट नआउँदै घर पठाउँदा समुदायमा संक्रमणको त्रास बढेपछि स्थानीय सरकारले पालिकाहरू नै सिल गर्न थालेका छन् । रिपोर्ट नआउँदै १ हप्ता घरमा अलग बस्न आग्रह गर्दै पठाए पनि अधिकांश व्यक्ति समुदायमा घुलमिल भएकाले गाउँमा त्रास फैलिएको स्थानीय बताउँछन् ।

प्रदेश राजधानीमै बढी लापरबाही

१३ स्थानीय तह रहेको कैलालीका २ स्थानीय तहमात्रै सिल गरिएको छ भने अन्यमा चरण लापरबाही देखिएको छ । सबैभन्दा बढी चहलपहल भइरहने प्रदेशका राजधानी धनगढीमा सबैभन्दा बढी लापरबाही देखिन्छ ।

संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएसँगै समुदाय स्तरमा त्रास पनि बढेको छ । तर, प्रदेशमै सबैभन्दा बढी संक्रमित रहेको जिल्ला कैलालीमा भने निकै कोरोनाबारे जानकारहरुले नै गम्भीर रुपमा लिएका छैनन् ।

कैलालीको गोदावरी र गौरीगंगा नगरपालिका सिल गरिएको छ भने अन्य स्थानीय तहमा भने कोरोना नियन्त्रणबारे कसैले चाँसो देखाएका छैनन् । प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा पनि कोरोना सम्बन्धी आवश्यक सावधानी अपनाइएको छैन । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले धनगढी सिल गर्ने विषयमा छलफल भइरहेको बताए ।

अहिले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरिए पनि लापरबाही देखिएकाले अब धनगढी सिल नै गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणकै कारण ५ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ३ जना कैलालीकै छन् । सबैभन्दा बढी संक्रमित पनि कैलालीकै देखिएका छन् । तर, सरकारको फितलो लकडाउनले धेरैको ज्यान खतरामा निश्चित छ ।

बजारमा सामाजिक दुरी र सावधानीका साधन स्वास्थ्य सामाग्रीबिना नै बजारतिर डुलिरहेका छन् । धनगढीकै छिमेकी स्थानीय तह गोदावरी र गौंरीगंगामा गरिएको सिलका कारण अत्यावश्यक खाद्यान्नका बस्तु किन्न पनि समस्या छ भने यता धनगढी उपमहानगरपालिकामा होटल र रक्सीका पसलहरूले समेत निर्वात रूपमा सञ्चालन भइरहेको छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले अहिले जिल्ला नै लकडाउन गर्ने बेला नआइसकेको बताए । नागरिकहरूले आफैले सावधानी अपनाउनुपर्ने उनको भनाई छ ।

स्वास्थ्य सामाग्री अभाव

सुदूरपश्चिम प्रदेशमा अहिले धनगढीको एक ठाउँबाट मात्रै कोरोनाको पीसीआर पद्धतिबाट परीक्षण भइरहेको छ । डडेल्धुरामा निजी क्षेत्रको पहलमा मेसिन जडानको काम भइरहेको छ । प्रदेशमा अन्य थप तीन मेसिन जडान गर्ने सुदूरपश्चिम प्रदेश सरकारको तयारी रहे पनि पीसीआर मेसिन जडान भएको छैन ।

सुदूरपश्चिममा स्वास्थ्य सामाग्री अभावकै कारण कहिले स्वाब संकलन त कहिले परीक्षण नै रोक्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ । यसअघि स्वाब राख्ने भिटिएम र परीक्षणको लागि आवश्यक पर्ने किट र केमिकल अभावका कारण पनि परीक्षण रोकिएको थियो ।
हाल प्रदेशभर हाल प्रदेशमा १४ आइसोलेसन र १० वटा भेन्टिलेटरहरू छन् ।

थप २० भेन्टिलेटर खरिदको प्रक्रिया चलिरहेको प्रदेश जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । प्रदेशमा परीक्षणको दायरा बढाउन आवश्यक मेसिनहरू खरिदको पक्रिया अन्तिम चरणमा पुगेको उनको भनाई छ ।

चिकित्सक भन्छन् : परीक्षणको दायरा बढाउनुको विकल्प छैन

सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीयहरूले आ–आफ्ना क्षेत्रमा कडाईगरी अत्यावश्यकबाहेक घरबाहिर निस्कन रोक लगाउनुपर्ने चिकित्सकहरु बताउँछन् । प्रदेश सरकारले पनि खरिद गरिरहेका स्वचालित मेसिनहरू तत्काल खरिद गरी परीक्षणको दायरा बढाउन उनीहरुको सुझाब छ ।

सुदूरपश्चिम प्रदेशका क्वारेन्टिनमा नागरिकको संख्या घट्दै गए पनि संक्रमण भने फैलँदो अवस्थामा छ । हाल प्रदेशभर २८ हजार मात्रै क्वारेन्टिनमा छन् भने संक्रमितको संख्या १६ सय नाघिसकेको छ । प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । भारतबाट आउने नागरिकहरूको संख्या न्यून भएता पनि संक्रमण भने नियन्त्रणमा आउन नसकेको उनले बताए ।

सेती प्रादेशिक अस्पतालमा कार्यरत डा. जगदीश जोशीले आवश्यक मेसिन र स्वास्थ्य सामाग्री तत्काल खरिद गरी परीक्षणको दायरा बढाउनुको विकल्प नभएको बताए । उनले भने, ‘भारतबाट आएका सबै नागरिकहरूलाई परीक्षणको दायरामा ल्याइनुपर्छ, हैन भने अहिलेको सानो लापरबाहीले समुदाय स्तरमै कोरोना संक्रमण फैलिन्छ ।’

अहिले धनगढीमा रहेको प्रयोग शालाबाट दैनिक रूपमा तीन सय जनाको परीक्षण भइरहेको छ भने बाँकीको नमूना परीक्षणको लागि पनि काठमाडौँ पठाइएको छ । परीक्षणको दायरा विगतको तुलनामा बढेसँगै संक्रमित पनि लागि परिरहेको कन्सल्टेन्ट फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौडेलले बताए ।

परीक्षणमा ढिलाई हुँदा संक्रमण पनि त्यति नै बढ्ने भन्दै उनले तत्काल परीक्षणको दायरा बढाई सावधानी पनि अपनाइनुपर्ने सुझाव दिए । १४ दिन क्वारेन्टिनमा बसेकालाई परीक्षण बिना नै धमाधम घर पठाइदा संक्रमणको दर बढ्ने खतरा छ । लकडाउन फितलो भएसँगै बढी रहेको लापरबाहीले पनि जोखिम निम्ताएको छ । यस्तो अवस्थामा नागरिक आफैले विशेष सजगता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले २९ जेठ १४ दिन क्वारेन्टिन बसेकालाई लक्षण नदेखिए घर पठाउन स्थानीय तहलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार प्रदेशका ९ जिल्लामा रहेका ३५ हजारभन्दा बढीलाई घर पठाइएको छ । अहिले प्रदेशका विभिन्न क्वारेन्टिनबाट घर पठाइएका २ ५० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित समय १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु