गृहपृष्ठ अब जापान र केरियाबाट खल्तीमा सिधै रेमिट्यान्स पठाउन सकिने
अब जापान र केरियाबाट खल्तीमा सिधै रेमिट्यान्स पठाउन सकिने
खल्ती मोबाइल वालेटले जापान र कोरियाबाट नेपालमा रेमिट्यान्स भित्र्याउन सुरू गरेको छ । खल्तीले सिटी एक्सप्रेस मनी ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेड र दक्षिण केरियाको जि मनी ट्रान्समार्फत खल्ती मोबाइल वालेटमा सिधै रेमिट्यान्स भित्र्याउन थालेको हो ।
खल्तीले यी दुई मुलुकबाट मोबाइल खातामा सिधै रकम पठाउन मिल्ने सेवा सुरू गरेसँगै नेपालमा रकम प्राप्त गर्ने व्यक्तिले पिन नम्बर र आफ्ने परिचयपत्र लिएर रेमिट्यान्स कम्पनीको एजेन्टकहाँ रकम झिक्न धाउनुपर्ने झन्झट अन्त्य भएको छ ।
जापानमा रहेका नेपालीले सिटी एक्सप्रेस मनी ट्रान्सफरको नजिकैको एजेन्टकहाँ गएर सिधै नेपालमा अफन्तको खल्ती मोबाइल खातामा रकम पठाउन सक्नेछन् । कोरियाबाट भने रकम पठाउन चाहनेले मोबाइल एपबाटै ट्रान्सफर गर्न सक्नेछन् । त्यहाँ रहेका नेपालीले जि मनीका तीन वटा शाखामा गएर पनि खल्ती वालेटमा रकम पठाउन सक्नेछन् ।
सिटीका जापानमा टेकियो सिन्जुकु (कु, नागोया, फुकुओका र तेचिगीमा शाखा रहेका छन् । त्यस्तै जि रेमिटका केरियामा सोल, ग्योंगी (डो र ग्योंसांनाम (डो)मा शाखा छन् ।
सिटी एक्सप्रेसका व्यवसाय विकास प्रबन्धक सागर खनालले विभिन्न मुलुकबाट स्थानीय रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरेर रेमिट्यान्स भित्र्याइरहेकोमा जापान र कोरियाबाट भने आफ्नै कम्पनीबाट खल्तीमार्फत रेमिट्यान्स भित्र्याउन थालेको जानकारी दिए । ‘विश्वभर लकडाउनले घरबाहिर निस्कन नसकिरहेको अवस्थामा मोबाइलबाटै खल्तीमा रेमिट्यान्स पठाउन सकिने व्यवस्थाले विदेशमा रहेका नेपालीलाई धेरै सहज भएको छ,’ उनले भने, ‘विस्तारै अन्य मुलुकबाट पनि मोबाइल वालेटमै रेमिट्यान्स भित्र्याउने व्यवस्था गर्न लागेका छौं ।’
खल्तीका निर्देशक अमित अग्रवाल जापान र कोरियाबाट डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउन थालेपछि रकम पठाउने र प्राप्त गर्ने दुवैलाई निकै सहज हुने बताउँछन् । ‘मोबाइल एपबाटै रकम पठाउने सेवा सुरू हुनुअघि रकम पठाउने नगद बुझाउन र पाउने नगद बुझ्न एजेन्टकहाँ धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ,’ उनले भने ।
खल्ती नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटल रुम बुकिङ, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्नेजस्ता धेरै सेवा लिन सकिन्छ । खल्तीका प्रयोगकर्ताको संख्या १३ लाखभन्दा बढी छ ।
प्रकाशित समय १८:२१ बजे

















