गृहपृष्ठ संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदद्वारा सिफारिस
संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदद्वारा सिफारिस
मन्त्रिपरिषद् बैठकले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । आजै बेलुकी ५ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने दबाव बढाएपछि सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । पार्टीभित्र रक्षात्मक बनेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग परामर्श गरेर फर्किएपछि मन्त्रिपरिषद बैठकमार्फत संसदको चालु बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गराएका हुन् ।
अधिवेशन अन्त्य भएसँगै प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड-नेपाल पक्षले चाहेर पनि तत्काल संसदमा अविश्वासको प्रस्ताव लैजान नपाउने भएका छन् । यस्तै ओलीलाई आफू अनुकुल अध्यादेश ल्याउने बाटो पनि खुलेको छ । उनले चाहेमा संकटकाल लगाउने अधिकार पनि पाउने छन् ।
विशेष अधिवेशन बोलाउनका लागि एक चौथाइ संसद सदस्यले त्यसको माग सभामुखसमक्ष गर्नु पर्ने प्रावधान छ । त्यसको जानकारी सभामुखले सरकारलाई गराएको १५ दिनपछि मात्रै विशेष अधिवेशनको प्रक्रिया सुरु हुनसक्छ ।
प्रकाशित समय १३:०० बजे

















