गृहपृष्ठ सुदूरपश्चिममा सलह आतंक : होहल्ला गरेर भगाउन तथा विषादी, जाल प्रयोग गर्न मन्त्रालयको आग्रह
सुदूरपश्चिममा सलह आतंक : होहल्ला गरेर भगाउन तथा विषादी, जाल प्रयोग गर्न मन्त्रालयको आग्रह
गत शनिबार नेपाल प्रवेश गरेको सलह किरा सुदूरपश्चिममा पनि देखिएको छ । प्रदेशमा सलह देखिएपछि प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि प्राविधिकको टोलीले बिहीबार कैलालीको विभिन्न क्षेत्रको निरीक्षण गरेको छ ।
कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी जनकराज बोहराले घोडाघोडी लम्कीचुहा, जानकी, टिकापुर, कैलारी र जोशीपुरमा निरीक्षण गरेको जानकारी दिए । मंगलबार कैलालीको लम्कीचुहा नगरपालिका- १, थपालीपुर, बर्दगोरीया र जानकी गाँउपालिका लगायतका ठाँउमा सलह देखिएको थियो ।
कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका भएर सलहको समूह भित्रिन सक्ने भएकाले क्षति कम गर्न चारवटा तहमा आवश्यक तयारी पनि थालिएको मन्त्रालयले जनाएको छ । सलहको समूह आएर बाली खान थालेमा होहल्ला गरेर भगाउन तथा विषादी, जाल आदिको प्रयोग गर्न कृषकहरूलाई मन्त्रालयको आग्रह छ ।
कैलालीमा भित्रिएको सलह किरा ठूलो झुण्डमा नभएको बताइएको छ । कैलालीको लम्कीमा देखिएको सलह कुनै झुण्डबाट छुट्टिएर कैलाली पुगेको हुनसक्ने अनुमान छ । सलह किरा नियन्त्रणमा स्थानीय तहले पनि योजना बनाएका छन् । उप महानगरपालिकाका कृषि विकास अधिकृत लोकराज उपाध्यायले किरा नियन्त्रणका लागि सचेतनात्मक अभियान थालेको बताए ।
सुदूरपश्चिम सरकारले एक किलो सलह किरा संकलन गरेर ल्याए २५ रुपैयाँ दिने यसअघि नै निर्णय गरिसकेको छ ।
प्रकाशित समय १७:३५ बजे

















