गृहपृष्ठ संसद अधिवेशन हठात अन्त्य गरिएकोप्रति कांग्रेसको असहमति

संसद अधिवेशन हठात अन्त्य गरिएकोप्रति कांग्रेसको असहमति

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएको भन्दै आपत्ति जनाएको छ । बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा गर्दै राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक भएकाे बताएका छन् ।

‘अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव देखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ । यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग न त कुनै परामर्श गरिएको छ न त पूर्वसूचना दिइएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

‘सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ, तर राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो । तर अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको छ,’ कांग्रेसको ठहर छ ।

जनताको जिवन प्रधान कि सत्ताको राजनीति ? प्रधानमन्त्रीसमक्ष सार्वजनिक प्रश्न राख्दै नेपाली कांग्रेसले संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गरेको छ ।

प्रकाशित समय १८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु