गृहपृष्ठ नागरिक दैनिक र एपी वान टेलिभिजनको कार्यालयमा कालो ब्यानर
नागरिक दैनिक र एपी वान टेलिभिजनको कार्यालयमा कालो ब्यानर
श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गरिएको छ । पछिल्लो समयमा कोभिड- १९ को बहाना बनाएर मिडिया हाउसहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने र तलब कट्टा गर्नेलगायतका गतिविधि गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोधस्वरुप मंगलबार विभिन्न सञ्चारमाध्यममा कालो ब्यानर टाँसेको छ ।
श्रमजीवी पत्रकारहरुको समस्या देखिएको नागरिक दैनिक र एपी वान टेलिभिजनको कार्यालयमा आज कालो ब्यानर टाँसेर विरोध गरिएको हो । ब्यानरमा ‘श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर’ र ‘पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टी गर’ लेखिएको छ ।
सोही अवसरमा महासंघ, काठमाडौँ शाखाका अध्यक्ष शान्तराम विँडारीले पत्रकारको पेसागत सुरक्षाको आन्दोलनमा सहयोग र समर्थन गर्न सबैलाई आह्वान गरे ।
महासंघले कोभिड- १९ को महामारीका समयमा सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारहरुलाई निष्कासन गर्ने, तलब कटौती गर्ने, बेतलबी बिदामा राख्ने र काम गर्ने वातावरण सृजना नगर्ने जस्ता कार्यविरुद्ध महासंघले दबाब र आन्दोलन गर्दै आएको छ ।
महासंघले उत्पन्न समस्या समाधान गर्न सञ्चार प्रतिष्ठानहरुमा कालो ब्यानर राख्ने, धर्ना दिनेजस्ता आन्दोलनका कार्यक्रम र वार्ता तथा कानूनी उपचारको बाटो एकसाथ अवलम्बन गरेको छ ।
प्रकाशित समय १९:३६ बजे

















