गृहपृष्ठ जानकी गाउँपालिकाले गर्‍यो किसानलाई ११ सय फलफूलका विरुवा वितरण

जानकी गाउँपालिकाले गर्‍यो किसानलाई ११ सय फलफूलका विरुवा वितरण

कैलालीको जानकी गाउँपालिकाका प्राविधिक किसानलाई फलफूलका बिरुवा वितरण गर्दै । गाउँपालिकाले व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन आँप र लिचीका ११ सय फलफूलका बिरुवा वितरण गरेको छ । तस्बिर : दुर्गा देवकोटा/रासस

कैलालीको जानकी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ । गाउँपालिकाले व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन एक हजार १०० फलफूलका बिरुवा वितरण गरेको जनाइएको छ । ‘घरको आँगन, बारीमा बिरुवा लगाई फलफूलको उपभोगमा वृद्धि गराउन बिरुवा वितरण गरेका हौँ,’ कृषिशाखाका प्राविधिक टोपबहादुर विष्टले भने, ‘प्रतिकिसान दुई बोट आँप र एक बोट लिची वितरण गरिएको छ ।’

यहाँका किसानले परम्परागत खेती गर्ने गरेका छन् । किसानलाई अन्नबालीसँगै फलफूलतर्फ पनि आकर्षित गर्ने योजना गाउँपालिकाको रहेको विष्टको भनाइ छ । ‘यस वर्ष किसानलाई शतप्रतिशत अनुदानमा ५०० बोट लिची र ६०० बोट आँप वितरण गर्‍यौँ,’ विष्ट भने, ‘यहाँका अधिकांशको खेती र बारी छ । रकम दिए किनेर लगाउँदैनन्, बिरुवा दिए अनिवार्य लगाउँछन् भनी विरुवा नै दिएका हौँ ।’ गाउँपालिकाले गत वर्ष पनि फलफूलका बिरुवा वितरण गरेको थियो । यो कार्यक्रम आगामी वर्ष पनि निरन्तर गर्ने गाउँपालिकाले जानकारी दिएको छ ।

कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पनि फलफूल खेती विस्तारलाई प्राथमिकता दिएको छ । सिँचाइ आयोजना कृषितर्फको सहयोगमा सञ्चालित फलफूल तथा बगैँचा निर्माणका लागि यस वर्ष ३१ हेक्टरमा थप केराखेती र १० हेक्टर क्षेत्रफलमा फलफूलअन्तर्गत आँप, कागती र लिचीखेती कार्यक्रम सञ्चालन भएको छ ।

आयोजनाले किसानको मागअनुसार बेर्नामा ५० प्रतिशत र उत्पादन बढाउनका लागि सुक्ष्म तत्वमा ७५ प्रतिशत अनुदान सहयोग गरेको छ । आयोजनाले पनि किसानलाई फलफूलमा आत्मनिर्भर बनाउने योजना बनाएको छ । ‘कैलालीको टीकापुर क्षेत्र केरामा भने आत्मनिर्भर छ । अन्य फलफूल बाहिरी जिल्ला तथा भारतबाट आउने गरेको छ,’ किसान अगुवा लालवीर चौधरी भन्छन्, ‘आयोजनाको सहयोगले यहाँका किसानले मेहेनत गरेमा फलफूलमा पनि आत्मनिर्भर बन्न सकिन्छ ।’

प्रकाशित समय १०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु