गृहपृष्ठ लायन्स क्लबद्वारा रक्तदान कार्यक्रम, ५१ पिन्ट रगत संकलन

लायन्स क्लबद्वारा रक्तदान कार्यक्रम, ५१ पिन्ट रगत संकलन

लायन्स क्लबले काठमाडौँको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा एक बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

शुक्रबार बिहानबाट सुरु भएको उक्त कार्यक्रम दिउँसो ४ बजेसम्म सम्पन्न भएको थियो । उत्साहजनक सहभागिता रहेको सो कार्यक्रममा कुल ५१ पिन्ट रगत संकलन भएको थियो जसमा ४० पुरुष र ११ महिलाले रक्तदान गरेका थिए ।

देश कोरोना भाइरसको महामारीसँग जुझिरहेको बेला थप एक संकट आइपरेको छ । कोरानाकै त्रासको कारण अस्पतालहरुमा रगतको अभाव हुन थालेको छ । कोरोभाइरसको सुरक्षाको निम्ति सरकारले सुरु गरेको लकडाउन पश्चात् सम्पूर्ण रक्तदान कार्यक्रमहरु स्थगित छन् ।

रक्तदान गर्न इच्छुक व्यक्तिहरु पनि यस भाइरसको जोखिमले त्रसित भएको भन्दै क्लबले रगतको अभावको समाधान खोज्ने दृष्टिकोणले लायन्स क्लबले संक्रमणको जोखिमलाई विशेष ध्यान दिई सुरक्षित तरिकाले यस रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

लायन्स क्लबका अनुसार रक्तदान कार्यक्रमको आयोजनाबाटै मानिसहरुमा रहेको रक्तदान प्रतिको गलत विचार तथा भ्रम हटाई नयाँ रक्तदाताहरुलाई प्रोत्साहित गर्न प्रयास गरेको देखिन्छ । मानिसहरूमा अझ पनि रक्तदानबारे जोडिएका अन्धविश्वास छन् जसका कारण उनीहरू खुलेरै रक्तदान गर्न हिच्किचाउँछन् ।

एक सर्वेक्षणअनुसार शाकाहारी मानिसले रक्तदान गर्नु हुँदैन भन्ने भ्रम पाइएको जनाएको छ । लायन्स क्लबका एक सदस्यले भने, ‘ट्याटु र अंग छेड्नेहरुले रक्तदान गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि रहेको पाइन्छ ? त्यसैगरी रक्तदान गरेपछि शरीरको रगत सकिन्छ आदि लगायतका गलत विश्वास पनि मानिसहरुमा रहेको पाइन्छ ।’

उनले भने, ‘वास्तवमा यी सबै निराधार हुन् । मानिसले बुझ्नु पर्ने कुरा के भने यदि तपाई पूर्ण रुपमा स्वस्थ हुनुहुन्छ, शरीरको तौल कम्तिमा ४५ किलो वा माथि छ र तपाईको उमेर १८ वर्ष नाघिसकेको छ साथै एचआइभीजस्ता जटिल रोगहरुको इतिहास छैन भने तपाई निर्धक्क भएर रक्तदान गर्न सक्नुहुन्छ ।’

लायन्स क्लबले कार्यक्रमको अन्त्यमा उपस्थित सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै आउँदा दिनहरुमा पनि फेरि यस किसिमको रक्तदान कार्यक्रम आयोजना गर्ने जानकारी गराए ।

प्रकाशित समय १४:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु