गृहपृष्ठ आर्थिक संकट र महामारीबीच युद्धग्रस्त सिरियामा संसदीय निर्वाचन

आर्थिक संकट र महामारीबीच युद्धग्रस्त सिरियामा संसदीय निर्वाचन

युद्ध, अन्तर्राष्ट्रिय प्रतिबन्ध र आर्थिक समस्याको दलदलमा फसेको सिरियाले आइतबार संसदीय निर्वाचनका लागि मतदान गर्दैछ । सरकारको नियन्त्रणमा रहेको करिब ७० प्रतिशत इलाकामा सम्पन्न हुने संसदीय निर्वाचन सन् २०११ मा युद्धको सुरु भएदेखि यो देशको तेस्रो हो ।

युद्धले ग्रसित अर्थतन्त्र कमजोर हुँदै जाँदा करिब दुई हजार १०० उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारमध्ये पश्चिमी मुलुकहरू अमेरिका र यूरोपेली संघका सदस्य कतिपय मुलुकहरूले प्रतिबन्ध लगाएका केही ठूला व्यवसायीहरू पनि रहेका छन् । उनीहरूले २५० सीट भएको सिरियाली संसदमा राष्ट्रपतीय असदको प्रभुत्व रहेको देखिन्छ ।

देशभरि धेरै सूचीहरू सञ्चालन गर्न अनुमति दिइएको यस निर्वाचनमा पनि कुनै वास्तविक विपक्ष चुनावमा प्रतिस्पर्धाबाट टाढा नै रहने छन् । सत्तारूढ बाथ पार्टीको आधिपत्य सुनिश्चितता गरिएको निर्वाचनमा कुनै आश्चर्यजनक नतिजाको अपेक्षा गरिएको छैन । सिरियामा हरेक चार वर्षमा निर्वाचन भएपनि राष्ट्रपति असदलाई आधिकारिकता दिलाउँदै बाथ पार्टीको अत्यधिक बहुमत घोषणा हुने गरेको छ किनकि विपक्षीहरू निर्वाचनको दौडमा सामेल हुने वातावरण नै छैन । राष्ट्रपति बसर अल असदले सिरियाली नेतृत्वमा आएको पनि दुई दशक पुगेको छ ।

सिरियामा गत अप्रिलमा नै निर्वाचन गर्ने घोषणा भएको थियो तर विश्वव्यापी महामारीकोरूपमा फैलिएको कोभिड- १९ भाइरसको प्रकोपका कारण दुई पटकसम्म निर्वाचन मिति सरेको थियो ।कोरोनाभाइरसले सिर्जना गरेको विश्वव्यापी आर्थिक संकट र नरसंहारले सिरियाको पीडालाई थप संकटपूर्ण बनाएको छ । सिरियामा अनियन्त्रित मुद्रास्फीति र कालो बजारका कारण राष्ट्रिय मुद्राको अन्तर्राष्ट्रिय बजारमा निरन्तर गिरावट रहँदै आएको छ ।

मूल्य वृद्धि, पुनः निर्माण र शरणार्थीलाई स्वदेश फिर्ता उम्मेदवारको प्रमुख नारा

धेरै सिरियालीहरू जीवनको बढ्दो लागतबाट दिक्क भएकाले अधिकांश उम्मेदवारहरूले मूल्य वृद्धि रोक्ने वाचा गरेका छन् । विश्व खाद्य कार्यक्रमका अनुसार गत बर्ष सिरियाभर खाद्यान्नको मूल्य दुई गुणा बढेको छ । यहाँका ८० प्रतिशतभन्दा बढी मानिस गरिबीमा बाँचिरहेका राष्ट्रसंघीय निकाय विश्व खाद्य संघको तथ्यांक रहेको छ ।

केहीले पुनः निर्माणको आश्वासन दिइरहेका छन् । उनीहरूले युद्धले विध्वंश गरेका पूर्वाधारहरूलाई पहिलेको अवस्थामा ल्याउने र स्वदेश तथा विदेशमा शरणार्थीका रूपमा रहेका लाखौं शरणार्थीहरूलाई घर फर्काउने वाचा गरिरहेका छन् ।

सिरियामा बोलिने अरबी भाषालाई अङ्ग्रेजीमा उल्था गर्दै ३२ वर्षीय अबीर दीबेले भनेका छन्, ‘मतदाताले आफ्नो जीवनस्तर सुधार्नका लागि उत्तम व्यक्ति छनौट गर्न निर्वाचनको सहारा लिनुपर्नेछ ।’ गरिबीले बाँधिएको जीवनस्तर र सार्वजनिक सेवा सुधार गर्नु विगत लामो समयदेखि जनताले आफ्ना प्रतिनिधिसँग माग गर्ने र अपेक्षा गर्ने विषय बन्ने गरेको उनको भनाइ छ । ‘युद्धका समय जनताको प्राथमिकता अरू पनि रहने गरेका छन् ती हुन् जीवनको सुरक्षा र अर्थतन्त्रको सुधार,’ उनको भनाइ छ ।

लाखौँ नागरिक मतदानबाट बञ्चित हुनसक्ने

सिरियाली अल-वटान अनलाइन पत्रिकाका अनुसार सरकारको नियन्त्रण बाहिरका क्षेत्रबाट विस्थापित भएकाहरूले देशभर विशेष गरी उनीहरूको लागि स्थापना गरिएका मतदान केन्द्रहरूमा मतदान गर्नसक्ने निर्वाचन आयोगले बताएको छ । तर निर्वाचनमा लाखौं शरणार्थीसहित देश बाहिर रहेका सिरियालीहरूले भाग लिन सक्ने छैनन् । सिरियाको झण्डै आधा जनसंख्या आन्तरिक वा वाह्य शरणार्थीका रूपमा विस्थापित बनेका छन् ।

निर्वाचन आयोगका सदस्य रियाद अल-कवासले अल-बटानसँगको कुराकानीमा भने, ‘निर्वाचन कानुनबमोजिम देश भित्रका मतदान केन्द्रहरुबाहेक संसदीय चुनावमा लाखौँ सिरियाली शरणार्थीसहित प्रवासीलाई मतदान गर्न मिल्दैन ।’ सिरियाली नागरिकहरूले सन् २०११ पछि पहिलोपटक देशका धेरै भूभागमा मतदान गर्नेछन् । यो निर्वाचनका लागि सात हजार ३१३ मतदान केन्द्र तोकिएको छ । ती मध्येका कतिपय क्षेत्रहरुमा सरकारले अन्तिम पटक मतदान सम्पन्न गरेको थिएन ।

पछिल्ला वर्षहरूमा सरकारले देशका अधिकांश भागलाई आफ्नो कब्जामा लिइसकेको छ । गत निर्वाचनमा मतदान भएका कतिपय स्थानमा सरकारको नियन्त्रण छैन त केही स्थानमा विगत लामो समयदेखि सरकारको उपस्थिति नरहेको भए पनि पछिल्ला केही महिना यता सरकारी सेनाले उक्त क्षेत्रलाई कब्जामा लिएको छ ।

‘यो संसदीय चुनाव त्यस्तो समयमा भइरहेको छ जब सिरियाली सेनाले सशस्त्र समूहले कब्जा गरेको प्रायः क्षेत्रहरू कब्जा गरिसकेको छ,’ न्यायाधीश तथा निर्वाचन आयोगका सदस्य हेबा फातुमले भने ।रुस समर्थित सरकारी सेनाले सन् २०१८ मा राजधानीको ढोकामा नै रहेको पूर्वी घौटा र यस वर्षको सुरूमा उत्तर पश्चिमी इदलिब प्रान्तको दक्षिणी भागका धेरै क्षेत्रहरू कब्जा गरिसकेका छन् ।

दमास्कस र त्यसको गाउँमा सडकहरू उम्मेदवारहरूको पोस्टरले रंगाइएका छन् । तीमध्ये गत महिना लागू गरिएको अमेरिकी सिजर ऐन (यूएस सिजर एक्ट) लगायत पश्चिमी प्रतिबन्ध लगाइएका व्यापारीहरू पनि निर्वाचनको दौडमा रहेका छन् । पुनः चुनावको लागि भाग लिइरहेका सभासद् मोहम्मद हमशो एक व्यापारी हुन् । उनले निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । उनीमाथि सन् २०११ देखि असदलाई समर्थन गरेको कारण अमेरिकाले कालोसूचीमा राखेको छ । अमेरिका र युरोपियन युनियनले प्रतिबन्ध लगाएका दमास्कस एयरपोर्ट नजिकै विलासी पर्यटकीय रिसोर्ट निर्माण गर्न सरकारी सम्झौता जितेका खालिद जुवेदीलाई पनि निर्वाचनमा एक सशक्त व्यापारिक क्षेत्रको प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा हेरिएको छ ।

सन् २०११ मा प्रतिपक्षीको विरोध प्रदर्शनबाट सुरू भएको र सरकारको व्यापक दमनपछि गृह युद्धमा परिणत आन्दोलनमा अहिलेसम्म तीन लाख ८० हजार सिरियाली नागरिकको मृत्यु भएको छ । यसले देशको अर्थतन्त्रको ठूलो हिस्सा खेर गएको छ ।

नयाँ संसदले नयाँ संविधानमा हस्ताक्षर गर्ने र अर्को राष्ट्रपति चुनावका लागि उम्मेदवारहरूलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । बुबाको शासनको तीन दशक पछि २००० मा पहिलो पटक सत्तामा आएका असदले आइतबारको मतदान पछि नयाँ प्रधानमन्त्रीको नाम सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

के निर्वाचनपछि सिरियाबारे अन्तर्राष्ट्रिय सहमति जुट्ला

लण्डनबाट नेत्ररोग विशेषज्ञका रूपमा अध्ययन पूरा गरेका ३४ वर्षीय असदले करिब २० वर्ष पहिले सत्ताको बागडोर सम्हाल्दा सिरियामा गृहयुद्ध चलेको थिएन । उनको दोस्रो कार्यकालको प्रक्रिया र निर्वाचनबाट नेतृत्वप्रति असन्तुष्ट वनेका सिरियाली विद्रोहीले अमेरिका तथा यूरोपेली मुलुकहरूको सहयोगमा उनलाई हटाउन प्रयास गरेको बताउने गरिन्छ । तर रूसको बलियो समर्थनका कारण असदले २० वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेका छन् ।

असदको सरकार पश्चिमी प्रतिबन्धका कारण अपांगजस्तो बनेको राजनीतिक बिश्लेषकहरूले बताउने गरेका छन् । विपक्षी दलको आन्दोलनले गति लिन थालेपछि असदले रूसी सहयोग लिएर आफ्नै देशका नागरिकमाथि बर्बर दमन गरेको आलोचकहरूले बताउने गर्छन् । तर उनको बाथ पार्टी र शुभेच्छुकले भने असदको नेतृत्वलाई नमान्न यूरोप र अमेरिका लागिपरेको धारणा राखेको पाइन्छ ।

पछिल्ला केही वर्षमा सिरियामा विदेशी सैनिक, स्लामिक संगठनका लडाकू तथा जिहादी समूहहरूबीच जटिल युद्ध चल्दै आएको छ । संयुक्त राष्ट्र संघको मध्यस्थतामा शान्ति सम्झौताका लागि प्रयास भए पनि विनाउपलब्धि रोकिएका छन् । सरकारको बलियो सहयोगी रूस र विद्रोही समर्थक टर्कीको नेतृत्वमा रहेको समानान्तर द्वन्द्व हालका वर्षहरूमा पनि निरन्तर रहँदै आएको छ । सन् २०२१ को राष्ट्रपति निर्वाचननजिक आइपुग्दासम्म युद्ध रोक्नको लागि कुनै राजनीतिक समाधान भेटिएको छैन ।

दमास्कसका सरकारनिकट मानिने विश्लेषक ओसामा डानुराले सिरियाली सरकार युद्ध अन्त्य गर्न राजनीतिक समाधानको लागि खुला हुने बताए । तर उनले ‘अन्तर्राष्ट्रिय सहमति भनेको दीर्घकालीन र जटिल मुद्दा’ भएको बताए । उनले भने, ‘सिरियाको युद्धमा प्रत्यक्ष वा परोक्षरूपमा सम्लग्न देखिएका देशहरूबीच कुनै समझदारी नभएको स्पष्ट छ ।’ परराष्ट्रमन्त्री वालिद अलम्युलेलेमले गत महिना असद सत्तामा रहन चाहँदासम्म सिरियाले उहाँलाई जिम्मेवारी दिइरहने बताएका थिए । यसले सिरियामा असदले तत्काल नेतृत्व छोड्ने सम्भावना नरहेको संकेत गर्छ ।

दानुराका अनुसार आगामी वर्ष राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन चाहने व्यक्तिलाई कम्तीमा ३५ संसदको लिखित समर्थन आवश्यक पर्ने सिरियाली संवैधानिक प्रावधान रहेको छ । असदलाई यूरोपेली संघ, अमेरिकालगायत अन्य पश्चिमा मुलुकको समर्थन नरहने र रूसको समर्थन पाएका असदले तत्काल नेतृत्व छोड्ने सम्भावना देखिँदैन ।

सिरियाबारे जानकार विश्लेषकहरूले राष्ट्रपति असद सत्तामा रहँदासम्म सिरियाली द्वन्द्वको अन्त्यका लागि अन्तर्राष्ट्रिय वातावरण बन्नेमा आशंका व्यक्त गर्ने गरेका छन् । असदलाई राष्ट्रपतिबाट हटाएर संयुक्त सरकार बनाउने विपक्षीहरूको माग र यसलाई बलियो समर्थन दिएको पश्चिमी शक्तिले असदलाई स्विकार गरेर अघि बढ्ने सम्भावनालाई यस अघि भएका सहमति प्रयास विफल हुनुले प्रष्ट पारिसकेको छ ।

प्रकाशित समय १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु