गृहपृष्ठ आचारसंहिता उल्लंघनका उजुरी विद्युतीय सञ्चारमाध्यममा बढी
आचारसंहिता उल्लंघनका उजुरी विद्युतीय सञ्चारमाध्यममा बढी
सञ्चारमाध्यममा सम्प्रेषित समाचारको विषयलाई लिएर ती सञ्चारमाध्यमविरुद्ध उजुरी पर्ने क्रम बढ्दै गएको छ । कोभिड- १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले सुरु गरेको बन्दाबन्दी(लकडाउन)को अवधिमा मात्र प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लंघनसम्बन्धी ७३ वटा उजुरी परेका छन् । ती उजुरी व्यक्तिगत वा संस्थागत रुपमा चरित्र, मानसम्मान, मर्यादा, इज्जत, सार्वजनिक सरोकार, ठगी आदि विषयसँग सम्बन्धित छन् ।
आर्थिक वर्ष २०७६/७७ मा छापा र विद्युतीय गरी २६५ वटा पत्रकार आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी परेका छन् । छापामाध्यमविरुद्ध परेका ३५ उजुरीमध्ये १३ उजुरी फर्स्याैट भएका छन् । काउन्सिलले गरेको स्वअनुगमनबाट १६३ समाचार आचारसंहिता उल्लंघनका छन् । ती सबै फर्स्याैट भएका छन् । त्यसैगरी जनगुनासोमध्ये तीनवटा उजुरी पनि फर्स्याैट भएका छन् ।
बन्दाबन्दी २०७६ चैत ११ देखि २०७७ असार ३१ को अवधिमा छापा माध्यमविरुद्ध परेका १३ उजुरीमध्ये १० फर्स्याैट भएको छ । बन्दाबन्दीकै बेला गरिएको स्वअनुगमन ३९ समाचार सामग्री भेटिएकामा सबै फर्स्याैट गरिएको काउन्सिलले जनाएको छ । यो वर्ष कुनै पनि पत्रपत्रिकालाई कालोसूचीमा राखिएको छैन ।
त्यसैगरी विद्युतीय माध्यमविरुद्ध यो वर्ष १५७ वटा उजुरी परेका छन् । तीमध्ये १२३ फर्स्याैट भएको छ । स्वअनुगमनबाट ५५४ आचारसंहिता उल्लंघनका समाचार सामग्री भेटिएको छ । तीमध्ये ५५१ वटाको फर्स्याैट पनि भएको छ । नौ वटा जनगुनासोमध्ये छ फर्स्याैट भएको जनाइएको छ ।
बन्दाबन्दी सुरु भएको दिनदेखि असार ३१ सम्म विद्युतीय सञ्चारमाध्यमविरुद्ध ६० उजुरी परेका छन् । स्वअनुगमन गर्दा १३ आचारसंहिताविपरीतका समाचार सामग्री पाइएको छ । तीमध्ये ६१ फर्स्याैट भएका छन् । तीन विद्युतीय सञ्चारमाध्यमलाई यो वर्ष कालोसूचीमा राखिएको छ । यस्तै १०१ वेबसाइटलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारवाही गरिएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषालले जानकारी दिए ।
काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलमा आउने उजुरीउपर कारवाही गर्ने मात्रै भन्दा पनि सहमति र मिलापत्रसमेत गर्ने गरिएको बताए । बन्दाबन्दीको अवधिमा समेत काउन्सिलले निरन्तर अनुगमन गरिरहेको उनको भनाइ छ । काउन्सिलले आगामी वर्ष पनि नियमित र प्रभावकारी रूपमा आचारसंहिताको अनुगमन, उजुरी, सुनुवाइ तथा कारवाही प्रक्रिया जारी राख्ने भएको छ ।
त्यसैगरी पत्रपत्रिका वर्गीकरण, विभिन्न नीतिगत, प्रशासनिक सुधारका कार्यहरु, पत्रकारलाई अनुदान, उपचार खर्चलगायतका सुविधा प्रदान गर्ने, पत्रकारितासम्बन्धी तालीम, अध्ययन अनुसन्धानसम्बन्धी कार्य अघि बढाउने र प्रकाशनका कार्यलाई पनि निरन्तरता दिने भएको छ । काउन्सिलले मैथली भाषाको पत्रकारिता आचारसंहिता अनुगमन गरी प्रकाशन गर्नुका साथै विभिन्न भाषामा पत्रकार आचारसंहिता पनि प्रकाशन गर्ने आगामी कार्ययोजनामा उल्लेख छ ।
यस वर्ष विराटनगर, मोरङ, महोत्तरी, सिराहा, रोल्पा, प्युठान, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र जाजरकोटलगायतका जिल्लामा जिल्लास्तरको पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न गरिएको प्रशासकीय अधिकत भुषालले जानकारी दिए । काउन्सिलले कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी मिडिया सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको थियो ।
हालसम्म काउन्सिलमा दुई हजार १३० सूचीकृत भएका छन् । त्यसैगरी विभिन्न अनलाइन सञ्चारमाध्यमबाट प्रवाह भएका २३ लाख ८७ हजार ५३९ सामग्री अभिलेख गरिएको छ । विभिन्न पत्रपत्रिकाका ३५ लाख पृष्ठ स्क्यान भएको छ । विभिन्न एफएम रेडियोबाट प्रसारित ३९ लाख पाँच हजार ४९० सामग्री क्लिप काउन्सिलले रेकर्ड गरी स्टोरेज गरेको छ । २०७५ वैशाखदेखि हालसम्म ३२ च्यानल टिभीबाट मिडिया कन्टेन्ट अभिलेख भइरहेको छ । त्यसैगरी पत्रपत्रिका व्यवस्थापन प्रणालीमा आवद्ध ९७७ पत्रपत्रिका ७० हजार ८७ पिपिएफ सामग्री अभिलेख भएको छ ।
काउन्सिललाई सुझाव
विभिन्न संघसंस्थाका अध्यक्ष तथा सञ्चारविज्ञहरुले कोभिड- १९ नियन्त्रण तथा रोकथाममा सरकारलाई सहयोग पुग्ने गरी कार्यक्रम ल्याउन र पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन काउन्सिललाई सुझाव दिएका छन् । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले सञ्चारमाध्यमले राससको समाचार प्रयोग गर्ने तर स्रोत उल्लेख नगर्नेबारे काउन्सिलको ध्यानाकर्षण गराए ।
मिडियालाई जिम्मेवार बनाउन काउन्सिलले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष श्यामलले अहिले प्रेसले जोगिएर लेख्नुपर्छ र प्रेस आफैँ पनि जोगिनुपर्ने बताए । पछिल्लो समयमा नयाँ मिडियाको नाममा भ्रामक र तथ्यहीन समाचारका विषयवस्तु आउने गरेकाप्रति काउन्सिलले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारीले पत्रकार आफैँले आचारसंहिताबारे सचेत हुँदै त्यसको पालना गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नयाँ मिडिया सञ्चालन गर्ने केही मान्यता हुनुपर्छ, त्यसमा देखिएको अराजकता हटाउन काउन्सिलको महत्वपूर्ण भूमिका हुन्छ ।’ आमसञ्चार विज्ञ डा. कुन्दन अर्यालले कोभिड- १९ सँगै नेपाली मिडियामा आउने परिस्थितिबारे ध्यान दिन आग्रह गर्दै बन्दाबन्दीको समयमा आचारसंहिताविपरीत समाचारका शिर्षक र विषयवस्तु आउने गरेको बताए । (रासस)
प्रकाशित समय १९:२२ बजे

















