गृहपृष्ठ दुई दिनकै वर्षाले तराई जलमग्न

दुई दिनकै वर्षाले तराई जलमग्न

फाइल तस्बिर

मौसम तथा पूर्वानुमान महाशाखाले चार दिनअघि नै सूचना जारी गरी भारी वर्षा हुने भन्दै सचेत रहन आग्रह गरे पनि सरकारले विपत पूर्वतयारी नगर्दा तराई/मधेसका अधिकांश डुबानमा परेका छन् भने पहाडी क्षेत्र भूक्षयबाट प्रभावित बनेको छ । महाशाखाले चार दिनसम्म पानी पर्ने अनुमान गरेको छ तर दुई दिनमै तराई क्षेत्र जलमग्न भएको छ ।

आइतबारदेखिको लगातारको वर्षाले पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका अधिकांश भूभाग डुवानमा परेका छन् । प्रदेश २ का विभिन्न स्थान डुवानमा परेका छन् । रौतहटको यमुनामाई गाउँपालिका जलमग्न छ । गाउँपलिका प्रमुख श्रीप्रसाद मुखियाका अनुसार गाउँपालिकाका सबै वडा डुबानमा परेका छन्, कतिपय ठाउँमा घरको पेटीमा समेत पानी पुगेको छ ।’

रौतहटका गौर, यमुनामाईलगायतका स्थानीय तह सधैँ डुबानमा पर्छन् । ‘अरु गाउँ त डुबानमा परेपछि स्थानान्तरण गर्ने ठाउँ छ,’ अध्यक्ष मुखियाले भन्छन्, ‘तर यमुनामाई गाउँपालिकामा भने दुईतिरबाटै खोला भएका कारण अन्य ठाउँमा जान पनि कठिन छ ।’

उनका अनुसार अहिले सबै निकायसँग समन्वय गरेर सबै वडाहरुमा माइकिङ भइरहेको छ । जोखिम ठाउँका बस्तीलाई अग्लो ठाउँमा सार्ने तयारी भइरहेको छ । ‘सार्वजनिक भवन र विद्यालयहरु पनि अग्लो ठाउँमा नभएकाले समस्या भएको छ,’ उनले भने ।

रौतहटमै सबैभन्दा बढी डुवानमा पर्ने यमुनामाईमा राहत, उद्धार तथा स्थानान्तरणका लागि पटक–पटक प्रदेश गुहार्दा पनि कुनै प्रतिक्रिया नपाएको उनले बताए । ‘मौसम पूर्वानुमान महाशाखाले चार दिनसम्म पानी पर्छ भनेको छ, यहाँ दुई दिनमै जलमग्न भएको छ । बाँकी दुई दिनमा के होला अवस्था ?’ उनले भने ।

डुबान भएको रौतहटमा मात्रै होइन । तराई क्षेत्रका विभिन्न जिल्लाको अवस्था उस्तै छ । कञ्चनपुरको दोधारा चाँदनीदेखि झापाको कन्काईसम्मका अधिकांश भूभागहरु डुबानमा परेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुदूरपश्चिमको कञ्चनपुर र कैलाली, प्रदेश ५ को बाँके, बर्दिया र दाङका केही भूभागमा डुबानमा परेको छ । त्यस्तै कपिलवस्तु, रुपन्देही र नवलपरासीका विभिन्न ठाउँका बासिन्दा घर छाड्नुपर्ने स्थितिमा पुगेका छन् ।

प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही महोत्तरी, धनुषा, सिराहा र सप्तरीका विभिन्न ठाउँ डुबानमा परेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेश १ मा पनि सुनसरी, मोरङ र झापाका विभिन्न स्थान डुबानमा परेका छन् ।

झापाको कनकाई र बिरिङ नदीमा आएको बाढीले घैलाडुब्बालगायतका ठाउँहरु जलमग्न भएका छन् । आइतबारदेखिको अविरल वर्षाका कारण जनजीवन कष्टकर भएको कनकाई नगरपालिका २ का सीताराम रिसालले जानकारी दिए । उनका अनुसार लगातार दुई दिनको वर्षाका कारण खेतबारीदेखि घरको आँगनसम्ममै पानी जमेपछि आवतजावत गर्नै कठिन भएको छ ।

गफमात्रैको पूर्वतयारी ?

अहिले तराईका विभिन्न जिल्लाका सरोकारवाला निकायहरु विपतको पूर्वतयारीमा रहेको बताउँछन् । सरकारी तथा गैरसरकारी निकाय, जनप्रतिनिधि, रेडक्रसलगायतका निकायहरुबीच निरन्तर छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयहरुले बताएका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे अहिलेसम्म खासै डुवान नभएको बताउँछन् । ‘डुवानमा पर्ने स्थान पहिचान गरेर त्यो ठाउँका बासिन्दालाई सचेत गराइरहेका छौं, उनले भने, ‘रौतहटमा अहिलेसम्म त्यस्तो क्षति केही भएको छैन । हामीले विभिन्न स्थानीय तहमा डुवान पर्नसक्ने ठाउँहरु पहिचान गरिसकेका छौँ । त्यो ठाउँमा आवश्यक तयारीमा लागिपरेका छौं । स्थानीयलाई सचेत गराएका छौं ।’

सप्तरीमा पनि डुवानको पूर्वतयारी भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार पूर्वतयारी गरिएको र सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । स्थानीय बासिन्दालाई पनि सचेत गराएको उनले बताए ।

मनसुन सुरु भएयता विभिन्न जोखिम बस्तीहरुलाई पहिचान गरेर पूर्वतयारीमा जुट्न सम्बन्धित निकायहरुलाई गृह मन्त्रालयले निर्देशन दिइसकेको थियो । बाढी, पहिरो, डुवान हुनसक्ने ठाउँहरुमा उद्धार र राहतका लागि मातहतका निकायलाई निर्देशन दिइसकेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुसँग कुरा गर्दा गफमात्रैको पूर्वतयारी भएको देखिन्छ ।

तर, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुसँग कुरा गर्दा गफमात्रैको पूर्वतयारी भएको देखिन्छ । जिल्ला प्रशासनसँग डुवानमा कति बस्ती छन् ? कति घर छन् ? भन्ने यकिन तथ्यांक नै छैन । सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे त्यसको यकिन तथ्यांक लिनका लागि स्थानीय तहहरुलाई भनिएको बताउँछन् । तर, अहिलेसम्म स्थानीय तहबाट सप्तरी प्रशासनले त्यस्तो तथ्यांक पाएको छैन । ‘हामीलाई थाहा छैन, स्थानीय तहहरुलाई भनेका छौँ, लिएका होलान्,’ उनले भने, ‘बाढीका कारण सप्तरीमा अहिलेसम्म कुनै क्षति भएको छैन । नदीहरुमा सामान्य बहाब बढिरहेको छ ।

पूर्वतयारीभन्दा पनि कुनै घटना भइहाले उद्धारको तयारी गरेर बसेका छन् जिल्ला प्रशासनहरु । ‘हामीले सबै तयारी गरेका छौँ, उद्धारका लागि सुरक्षा निकायलगायतलाई तयारी अवस्थामा राखेका छौँ,’ उनले भने, ‘कतिपय अवस्थामा स्थानीय बासिन्दाले पनि आफ्नो जिम्मेवारी आफैँ लिनुपर्छ ।’

घिमिरेका अनुसार डुवान पीडितहरुले आफ्नो जिम्मेवारी आफैँ लिनुपर्छ । ‘कतिपयले गहिरोमा घर बनाएका छन्, बगरमा घर बनाएका छन्, गहिरोमा घर बनाएपछि डुब्ने त भइहाल्यो नि ! नडुब्न त अग्लो ठाउँमा घर बनाउनुपर्छ, उहाँहरु आफैँले पनि बुझ्नुपर्ने कुरा हो यो ।’ ‘मानिसले जानी–जानी बगर र गहिरो ठाउँमा त झुप्रो हाल्दैन होला ?’ भन्ने न्युज कारोबारको प्रश्नमा उनले भने, ‘केहीको नहोला तर अधिकांशको तरिका त्यस्तै छ ।’

सप्तरीको खाँडो खोलामा आउने बाढीले हरेक वर्ष स्थानीयलाई तर्साउँछ तर बाढीको कहरबाट स्थानीय बासिन्दालाई जोगाउन बाढी आउनुअघि केही गरिँदैन, जब बाढीले घर डुबाउँछ, मानिसहरु डुब्न थाल्छन् अनि उद्धार र राहतका काम सुरु गरिन्छन् । मौसम विभागले पानी आउने जानकारी गराएसँग अलर्ट गर्ने, पानी पर्न थालेपछि डुबान क्षेत्रका मानिसलाई अल्पकालीन सेल्टर बनाएर स्थानान्तरण गर्ने खालका कुनै काम हुने गरेका छैनन् । पूर्वतयारी नभएकै कारण हरेक वर्ष बाढीमा परेर सयौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।

मनसुन सुरु भएयता ११३ जनाको मृत्यु

मनसुन सुरु भएयता सोमबारसम्ममा बाढी र पहिरोमा परी ११३ जनाको ज्यान गइसकेको छ । बाढी र पहिरोका कारण २८ जिल्लामा ११३ जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै विभिन्न जिल्लामा भएका घटनामा १०३ जना घाइते छन् भने ४५ जना बेपत्ता भएका छन् ।

बेपत्ताहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्यमा जुटिरहेको छ । गृह मन्त्रालयका अनुसार म्याग्दीमा २८ जना, जाजरकोटमा १२, तनहुँमा ११ र कास्कीमा १० जनाको मृत्यु भएको छ ।

प्रकाशित समय २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु