गृहपृष्ठ सुदूरपश्चिममा ‘विप्लव’को बन्द आतंक : मन्त्रालय र चोकमा बम, नगरपालिकाको गाडीमा आगजनी
सुदूरपश्चिममा ‘विप्लव’को बन्द आतंक : मन्त्रालय र चोकमा बम, नगरपालिकाको गाडीमा आगजनी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दको प्रभाव सुदूरपश्चिममा भने खासै देखिएन । सार्वजनिक यातायात, बजार क्षेत्र आंशिक मात्र बन्द रहे । तर सुदूरपश्चिमका विभिन्न ठाउँमा कतै बम भेटिए भने कतै आगजनीका घटनाहरु भएका छन् ।
४ स्थानमा बम
कैलालीका विभिन्न ४ स्थानमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय जाने बाटो, धनगढी बजारको एलएन चोक र लम्कीचुहा नगरपालिका कार्यालयअगाडि मंगलबार बिहान कुकर बमजस्तै देखिने शंकास्पद वस्तु भेटिएका थिए । कैलालीका डीएसपी प्रतीक विष्टका अनुसार धनगढीका तीनवटै स्थानमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको थियो ।
प्रदेश राजधानीमै बम आतंक
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय जाने बाटो, धनगढी बजारको एलएन चोक र लम्कीचुहा नगरपालिका कार्यालयअगाडि राखिएको बम कसले राखेको हो ? भन्ने प्रहरीले पुष्टि गर्न सकेको छैन । प्रदेश राजधानीमै बम भेटिएपछि सर्वसाधारणमा त्रास बढेको छ । विप्लव नेतृत्वको माओवादीले बन्द आह्वान गरेको हुँदा उनीहरूले नै बम राखेको हुनसक्ने कतिपयले अनुमान गरेका छन् ।
पुष्टि नभए पनि विप्लव समूहले नै बम राखेको प्रहरीको आशंका छ । ‘कुनै आधार नभेटिए पनि बन्दको आह्वान गर्ने विप्लव समूहले नै बम राखेको हुन सक्छ,’ डीएसपी विष्टले भने । 
नगरपालिकाको गाडीमा आगजनी
कैलालीको घोडाघोडी नगरपालिकाकी उपप्रमुखले प्रयोग गर्दैआएको गाडीमा गएराति आगजनी भएको छ । घरको कम्पाउन्डभित्र पार्किङ गरिएको से. १ झ २४१ नम्बरको गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट गाडीको पछाडिको भाग जलेको छ । स्थानीयले आगो नियन्त्रणमा लिएका कारण सोही स्थानमा राखिएको नगर प्रमुखले चढ्ने गाडीमा भने क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
के भन्छन् विप्लवका नेता ?
आफ्ना नेता-कार्यकर्तालाई झुठो मुद्दामा पक्राउ गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले साउन ५ देखि ८ गतेसम्म संघर्षका कार्यक्रमहरु घोषणा गरेको थियो । सोअन्तर्गत आज सुदूरपश्चि बन्दको आव्हान गरिएको थियो । विप्लव नेकपाको सेती-महाकाली ब्युरो सदस्य परिवर्तनले ५ गते रातिदेखि ८ गते मध्यरात सम्मका लागि सुदूरपश्चिममा सार्वजनिक यातायात बन्दको आह्वान गरिएको जानकारी दिए । बजार क्षेत्र भने ६ गते साँझसम्म मात्रै बन्द रहने उनले बताए । कैलालीका विभिन्न स्थानमा बम फेला परेको विषयमा भने उनले अहिले आधिकारिक धारणा दिन नमिल्ने बताए ।

प्रकाशित समय २२:३२ बजे

















