गृहपृष्ठ टोखा नगरपालिकाले गर्यो पहिरोले मृत्यु भएका परिवारलाई सहयोग
टोखा नगरपालिकाले गर्यो पहिरोले मृत्यु भएका परिवारलाई सहयोग
टोखा नगरपालिकाले गत मंगलबार पहिरोले पुरिएर मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानाको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । नगरपालिकाको बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले टोखा–१ टाँसी डाँडामा पहिरोका कारण मृत्यु भएका परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
नगरपालिकाभित्र हुनसक्ने विपद्जन्य घटनाको रोकथाम, नियन्त्रण र समाधानका लागि वडा विपद् व्यवस्थापन समिति निर्माण समेत गर्ने निर्णय गरेको उनले बताए । ‘वडा विपद् व्यवस्थापन समितिले विपद्को समयमा तत्काल उद्धार तथा सम्बन्धित निकायलाई खबर गर्नेछ,’ उनले भने । नगरपालिकाले वडामा आवश्यक पर्ने विपद् व्यवस्थापन सामग्रीका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको छ ।
नगरपालिकाभित्र रहेका वडा विपद् व्यवस्थापन समितिले वडाभित्र विपद्का कारण भएको क्षति संकलन गरी तत्काल अस्थायी तटबन्ध निर्माणका लागि वडा कार्यालयले ५० हजार रुपैयाँसम्म रकम दिन पाउने व्यवस्थासमेत गरेको छ । सो रकमभन्दा बढी क्षति भएमा वडाले नगरपालिकाको विपद् व्यवस्थापन समितिसँग सहकार्य गरेर विनियोजन गर्नुपर्नेछ ।
प्रकाशित समय ०८:०५ बजे

















