गृहपृष्ठ नदी कटानले प्रदेश राजधानी नै जोखिममा

नदी कटानले प्रदेश राजधानी नै जोखिममा

देशका विभिन्न ठाउँमा बाढीपहिरोले बितण्डा मचाइरहेका बेला सुदूरपश्चिम प्रदेशको राजधानी तथा मुख्य सहर धनगढी पनि कटान र डुवानको उच्च जोखिममा छ । धनगढीको अधिकांश क्षेत्र नदीले घेरेको छ । तर तटबन्द नहुँदा बर्सेनि नदीको कटान बढ्दो छ ।

निर्वाचनका बेला नदी कटान रोक्न तटबन्द निर्माण गर्ने नारा लगाउने नेताहरु पनि गाउँ नफर्केपछि स्थानीयवासी आक्रोशित छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ क्षेत्र डुवान र कटानको उच्च जोखिममा छ । हरेक वर्ष डुवानमा पर्ने सो वडामा हाल मोहना नदीको कटान तीव्र रुपमा बढेपछि नागरिकमा त्रास बढेको छ । विभिन्न ठाउँमा बाढीले बस्ती नै बगाइरहेका बेला यहाँ पनि गाउँमा बाढी पस्ने होकि भन्ने चिन्ता स्थानीयमा बढेको छ ।

धनगढी उपमहानगरपालिका- ३ को राजघाट क्षेत्रमा करिब ३ वर्षको अवधिभित्र मात्रै मोहना नदीले १० बिगाह जमिन कटान गरेको स्थानीयले बताएका छन् । विगतमा पश्चिमबाट बग्ने मोहना नदीले अहिले पुरै पुर्वतर्फ धार बदलेको स्थानीय चन्द्र चौधरीले बताए । वर्षैपिच्छे प्रत्येक नदीले कटान गर्दा वडा नम्बर ३ को बस्तीमै बाढी पस्ने चिन्ताले स्थानीयवासीलाई सताएको छ ।

नदीले वर्सेनि कटान गर्ने र नेताहरुका आश्वासन मात्रै पाउने नागरिकहरु अब भने आक्रोशित बनेका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणा देउवा तथा वर्तमान संघीय सांसद नारदमुनी रानाको समेत चुनावी नारा बनेको तटबन्द कार्यक्रम नारामै सीमित रहेको स्थानीयको गुनासो छ । हरेक वर्ष नदीले जमिन काट्दै जाने तर नेताहरु दोस्रोपटक फर्केर नआउने हुँदा अब तटबन्द बन्ने आशा पनि मरेको धनगढी उपमहानगरपालिका- ३ का दुर्गा प्रसाद ओझाले बताए । नदीले कटान गर्दै गएपछि जंगल र आसपासमा भएका ठुला मैदानहरु पनि मासिँदै गएको उनको भनाइ छ । स्वार्थ पूरा गर्न मात्रै आउने नेताका कारण जनताहरु पटक-पटक ठगिएको ओझाले गुनासो पोखे ।

स्थानीय सरकारले भने तटबन्दको काम संघीय तथा प्रदेश सरकारको भन्दै खासै वास्ता गरेको छैन । स्थानीय तहको जिम्मा तटबन्द नभएकाले यसको जिम्मेवारी प्रदेश तथा संघीय सरकारलाई हुने धनगढी उपमहानगरपालिकाले जनाएको छ । तटबन्दका लागि प्रदेश तथा संघीय सरकार मातहतका कार्यालयमा पहलका साथै रेडक्रससँग पनि समन्वय गरिरहेको उपमहानगरपालिकाका मेयर नृपबहादुर वडको भनाइ छ ।

नदी कटान तीव्र भइरहेका बेला जनप्रतिनिधिसमेत संवेदनशील नभए भविश्यमा अप्रिय घटना हुँदैन भन्न सकिन्न । त्यसैले समयमै सम्बन्धित पक्षको ध्यान जानुपर्नेमा स्थानीयको जोड छ ।

प्रकाशित समय २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु