गृहपृष्ठ काठमाडौं महानगर ४ मा रक्तदान, ८० पिन्ट रगत संकलन
काठमाडौं महानगर ४ मा रक्तदान, ८० पिन्ट रगत संकलन
विशाल मिलन केन्द्रले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । काठमाडौँ महानगरपालिका ४ मा शनिबार गरिएको रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेको केन्द्रले जनाएको छ । कोरोनाभाइरस संक्रमणका कारण जनजीवन सामान्य नबनिरहेका बेला रगत अभाव हुन नदिन केन्द्रले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश सांसद नारायण सिलवालले कोरोना महामारीको समयमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम गर्नुपर्ने बताए । ‘रक्तदान नै जीवन दान हो,’ उनले भने, ‘रक्तदानमा युवाहरुको सहभागिता महत्त्वपूर्ण हुन्छ ।’
मिलन केन्द्रले रक्तदान, जेष्ठ नागरिक स्वास्थ्य जाँच, खेलकुदलगायतका कार्यक्रम गर्दै आएको केन्द्रका अध्यक्ष हरि अधिकारीले जानकारी दिए । रक्तदान गर्नेमा २५ जना खेलाडी छन् । केन्द्रका खेलकुद संयोजक अनुप मानन्धरले युवाहरू परिवर्तनको संवाहक भएकाले सामाजिक काममा लाग्नुपर्ने र रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । कार्यक्रममा पासवा सहकारी संस्था र सावल सहकारी संस्थाको पनि सहभागिता थियो ।
प्रकाशित समय १८:५३ बजे


















