गृहपृष्ठ बाढीपीडितको बास सडक किनारमा

बाढीपीडितको बास सडक किनारमा

चाउचाउ र बिस्कुटको भरका त्रिपालमुनि रात कटाउँदै

गत १४ गतेदेखि परेको अविरल बर्षाका कारण कैलालीका २ हजारभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । ४ दिनसम्म लगातार परेको पानीका कारण जिल्लाका भजनी, टिकापुर नगरपालिका तथा जोशिपुर र जानकी गाउँपालिकाका अधिकाशं क्षेत्र डुबानमा परेका हुन् ।

बाढीको डुबानका कारण विस्थापित भएका घर परिवारहरु अहिले हुलाकी सडकमा रात कटाइरहेका छन् । हुलाकी सडकसम्म पुगेका उनीहरुलाई अझै बाढी आउने चिन्ताले पिरोलिरहेको छ । बाढीले उनीहरुको घरमा भएको खाद्यान्नसमेत बगाइदिएको छ । कैलालीका ४ स्थानीय तहका २५ सय घरपरिवार बिस्थापित भएका हुन् । डुबानका कारण जिल्लामा ३ जनाको मृत्यु भइसकेको छ । बाढीले बगाएका केहीलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका थिए । केहीले भने पौडिएर ज्यान जोगाएका थिए ।

डुबान प्रभावित क्षेत्रबाट हुलाकी सडकसम्म पुर्‍याएका पीडितहरुको अवस्था कष्टप्रद बनेको छ । घरमा भएका खानेकुरा, लत्ताकपडा र भाँडाकुँडासमेत गुमाएका उनीहरु ‘सडकवास’मै दिन कटाइरहेका छन् । हुलाकी सडकमा त्रिपालमुनि रात कटाइरहेका बाढीपीडितले शनिबारबाट बल्ल चाउचाउ र बिस्कुट पाउन थालेका छन् । भजनी नगरपालिका- ३ का पन्चराम चौधरीको घरमा १४ गते नै बाढी पसेको हो । रुखमा बसेर रात काटेका उनी १५ गते बिहानै ढुंगा चढेर हुलाकी सडक पुगेका हुन् । चौधरीको परिवारले १७ गते चाउचाउ र बिस्कुट पाए । ३ दिनसम्म खाना नपाएका चौधरीजस्तै हुलाकी सडकमा आश्रय लिइरहेका परिवारको बिचल्ली छ । कतिपयले माछा मारेर छाक टारिरहेका छन् ।

 पन्चरामजस्तै अन्य बाढीपीडितहरु पनि हुलाकी सडकमा पुगेका छन् । भजनीकै मथुरा बिक पनि ३ भैँसीसहित तीन घण्टा लगाएर हुलाकी सडकमा पुगेकी छन् । घरको एक तला पुरै पानीले भरिएपछि छतमा बसेर एक रात काटेकी उनी पनि सडकबासमै छन् । सडकमा बसिरहेका पीडितहरुका लागि शौचालयसमेत अभाव छ ।

अन्य स्थानीय तहको तुलनामा भजनी नगरपालिकामा बढी प्रभावित छ । काडाँ र कान्द्रा नदीको बाढी पसेर भजनीको अधिकांश क्षेत्र डुबानमा परेको हो । १४ गतेको रात केहीले रुखमा त केहीले घरको छतमा चढेर ज्यान बचाएका थिए । डुंगा अपर्याप्त र रातको समय भएका कारण उद्धार गर्न कठिनाइ भएको नगरपालिकाले जनाएको छ । जसोतसो गरेर अधिकांशलाई सोही रात सार्न सफल भएको नगरपालिकाले जनाएको छ । बाँकीलाई अर्को दिन उद्धार गरी हुलाकी सडकमा सारिएको उपमेयर छाया देवकोटाले बताइन् । उनका अनुसार नगरपालिका अहिले राहत वितरणमा केन्द्रित भएको छ ।

जिल्लास्थित तीनवटै सुरक्षा निकायले ३ दिन लगातार उद्धार गरेपछि बाढी पीडितलाई सुरक्षित स्थानमा सारिएको हो । अहिले भने राहत वितरणलाई प्राथमिकतामा राखिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । उनका अनुसार सरकारी निकायसँग मात्रै पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँग पनि सहयोगको आग्रह गरेर राहत संकलन गरी वितरण भइरहेको छ ।

कैलालीमा २०७२ सालपछि यस बर्ष बढी डुबान परेको हो । पर्याप्त लाइभ ज्याकेट तथा डुंगाको अभाव भएकाले समयमै उद्धार गर्न नसकिएको स्थानीय तह र सुरक्षाकर्मीहरुले बताएका छन् ।

प्रकाशित समय १९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु