गृहपृष्ठ विज्ञसँग प्रधानमन्त्रीको छलफल बालुवाटारमा सुरू, विपक्षी दलका नेता पनि सहभागी
विज्ञसँग प्रधानमन्त्रीको छलफल बालुवाटारमा सुरू, विपक्षी दलका नेता पनि सहभागी
लकडाउन खुलेसँगै कोरोना संक्रमितहरुको संख्या तीव्र रुपमा बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग छलफल सुरु गरेका छन् । छलफल केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको हो ।
पुनः लकडाउन गर्ने वा अन्य कुनै विकल्पमार्फत कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले विज्ञहरुको राय लिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए । उनका अनुसार छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् ।
काेराेना संक्रमण बढ्दै गएपछि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घाेषणा गरेको थियो । त्यसयता पटक-पटक थपिएको लकडाउनको अवधि साउन ६ गते सकिएको हो ।
तर केही दिनयता समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि सरकारले रोकथामकाे उपायबारे तयारी गरेकाे हाे । सरकारले लकडाउन खुला गरेपछि संक्रमण फैलिएको भन्दै विज्ञहरुले पुनः लकडाउन गर्नुपर्ने सुझाव दिँदै आएका छन् ।
प्रकाशित समय १२:२३ बजे

















