गृहपृष्ठ गाईजात्रा : हास्यव्यंग्यभित्र लुकेको वियोगको कथा

गाईजात्रा : हास्यव्यंग्यभित्र लुकेको वियोगको कथा

धेरैजसोलाई गाईजात्रा भन्नेबित्तिकै व्यंग्य गर्ने, हेर्ने, सु्न्ने दिन भन्ने लाग्छ । हुन पनि यस दिन नेता, कलाकार, सञ्चारकर्मीदेखि विभिन्न व्यक्तित्वहरुको बारेमा व्यंग्य गर्ने चलन छ । समाजमा विद्यमान राजनीतिक, सामाजिक विकृति-विसंगितप्रति गाइजात्राको अवसर पारेर बर्सेनि व्यंग्यात्मक प्रदर्शन गर्ने गरिन्छ । वर्षका अरु दिन चाहेर पनि अभिव्यक्त गर्न नपाएका कुराहरु गाइजात्राको दिन खुलेर भन्ने गरिन्छ ।

निकै नै पेचिलो किसिममा व्यंग्यात्मक अभिव्यक्तिलाई पनि छुट हुने भएकाले विकृतिविरुद्ध खबरदारी गर्न यो दिनलाई अवसरको रुपमा लिइन्छ । गालीगलौजदेखि राम्रा-नराम्रा टिकाटिप्पणी गरेर हास्य कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिने योे पर्वको विषेशता हो । यसरी आम दर्शक-स्रोतादेखि कलाकारसम्मका लागि रमाइलो, ठट्टा, व्यंग्य त छँदैछ, यसका साथसाथै गाईजात्राको सुरुआत र प्रचलनको विषयमा मर्मस्पर्शी इतिहास पनि छ ।

किन मनाईन्छ गाईजात्रा ?

जनैपूर्णिमाको भोलिपल्टदेखि ८ दिनसम्म गाईजात्रा मनाईन्छ । किंवदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्यु भएपछि रानी आफ्नो पुत्रको वियोगमा डुबिन् । राजाले धेरै सम्झाई-बुझाई गर्दा पनि रानीको पुत्र वियोगको शोक कम भएन । केही सीप नलागेपछि राजा प्रताप मल्लले रानीको मन बुझाउने उपाय निकाले । उनले आफ्नो घरमा मात्र नभएर सबै ठाउँमा कसै न कसैको मृत्यु भइरहेको छ भन्ने देखाउन गाई निकाल्ने प्रचलनको सुरुवात गरे । रानीको पीडालाई कम गर्न र मन शान्त पार्न गाई निकाल्नुका साथ रमाइलो, ठट्टा, हस्यौँली गर्न राजाले जनतामाझ आग्रह गरे । त्यही चलनअनुसार अहिले पनि गाईजात्राको अवसरमा हास्य व्यंग्य प्रदर्शन गरिँदै आएको छ ।

उपत्यकालगायत विभिन्न स्थानमा मनाइने यो पर्वको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व छ । विषेशगरी नेवार समुदायले यस पर्वलाई मनाउने गर्दछन् । दिवगंत आफन्तको सम्झना र उनीहरुको आत्माको चिरशान्तिको लागि गाईजात्रा मनाउने चलन छ । गाईजात्रामा गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ । यसो गरेपछि मरेका आत्माले स्वर्ग जाँदा बाटोमा पर्ने वैतरण नदी तर्न सजिलो हुन्छ र मोक्ष मिल्छ भन्ने विश्वाससमेत राख्ने गरिन्छ ।

भक्तपुर, काठमाडौँ र ललितपुरमा अन्यत्रको तुलनामा गाईजात्राको रौनक बढी उल्लासमय हुन्छ । भक्तपुुरमा परालबाट बनाएको भैरव र तमाचा निकालेर नगर परिक्रमा गराई गाईजात्रा विर्सजन गर्ने चलन छ । गाईजात्राको मुख्य आकर्षणको भनेकै ‘घिन्ताङकिसी’ र ‘माक प्याक’ नाच नै हो । ८ दिनसम्म घिन्ताङकिसी नाच र माक प्याक नाच निकाली प्रदर्शन गर्ने गरिन्छ । यसलाई हेर्नको लागि हजारौंको भीड लाग्ने गर्दछ ।

प्रियजन गुमाएपछि त्यसको पीडा कम गर्न सुरुवात भएको यो गाईजात्रा पर्वले सबैको दुःख र पीडाहरु हटाउन सकोस् । आफन्त गुमाएकाहरुले शोकबाट सान्त्वना पाउन सकुन् । यस पर्वले सबैजनालाई शान्ति मिलोस् । पीडामाथि विजय प्राप्ति होस् । शुभकामना !

प्रकाशित समय १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु