गृहपृष्ठ ‘ओे पोजेटिभ’को सट्टा ‘बी पोजेटिभ’ रगत प्रवाह, सुत्केरीको मृत्यु
‘ओे पोजेटिभ’को सट्टा ‘बी पोजेटिभ’ रगत प्रवाह, सुत्केरीको मृत्यु
जनकपुरधामस्थित नेपाल रेडक्रस सोसाइटी र राजजानकी अस्पतालका चिकित्सकको लापरवाहीले गर्दा एक सुत्केरीको मृत्यु भएको छ । रामजानकी हस्पिटलमा बिहीबार साँझ अप्रेशन गरी छोरी जन्माएकी महोत्तरीको गौशाला नगरपालिका–११ भरतपुर बस्ने २३ वर्षीया गंगादेवी महतोको उपचारमा संलग्न डाक्टरहरुको गम्भीर लापरबाहीले मृत्यु भएको मृतकका पति राजकिशोर महताले आरोप लगाएका छन् ।
अप्रेशन गरि सुत्केरी भएकी गंगादेवीको शरीरमा रगत अभाव भएको भन्दै अस्पतालले ओ पोजेटिभ रगत ल्याउनका लागि अभिभावकलाई आग्रह गरेको थियो । अस्पतालबाट रगत नमूना लिएर रेडक्रसबाट ल्याएका दुई पोका रगतमध्ये एक पोका बी पोजेटिभ रगत बिरामीको शरीरमा रगत चढाई सकेपछि थाहा पाएको रामजानकी हस्पिटलका सञ्चालक गणेश साहले बताए ।
ओे पोजेटिभ रगतको साटो विमारीको शरीरमा बी पोजेटिभ रगत प्रवाह भएपछि एरिएक्सन गरेको र सुत्केरीको अवस्था गम्भीर भई राति ८ बजे मृत्यु अस्पताल स्रोतले जनाएको छ । रामजानकी अस्पतालका सञ्चालक गणेश साहले विरामीको मृत्यु हुनुमा अस्पतालको लापरवाही नभई रेडक्रसको लापरवाहीले सुत्केरीको मृत्यु भएको दाबी गर्दै आएका छन् ।
यता रेडक्रस सोसाइटी शाखा जनकपुरका सभापति रामनरेश सिंहले अस्पतालले आफ्नो गल्ती ढाकछोप गर्न रेडक्रसमाथि आरोप लगाएको बताए । रामजानकी हस्पिटल र रेडक्रसको लापरवाहीले गर्दा सुत्केरीको मृत्यु भएपछि मृतकको शव परिवारजनले बुझन मानेका छैनन् । मृतक परिवारका व्यक्तिहरुले आफूहरुलाई क्षतिपूर्ति नदिए शव नउठाउने अडान लिएका छन् ।
प्रकाशित समय १६:१४ बजे

















