गृहपृष्ठ नेपालमा कोरानाबाट ज्यान गुमाउनेको संख्या बढ्दै, हालसम्म ७३ जनाको मृत्यु
नेपालमा कोरानाबाट ज्यान गुमाउनेको संख्या बढ्दै, हालसम्म ७३ जनाको मृत्यु
फाइल तस्बिर ।
नेपालमा कोरानाभाइरस (कोभिड- १९)को संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या दिनहुँ बढिरहेकाे छ । पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।
काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीय महिलाको शुक्रबार कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा महिलाकाे मृत्यु भएको थियो ।
यस्तै मोरङको विराटनगर महानगरपालिका- ९ का ५८ वर्षका पुरुषको पनि शुक्रबार नै उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको थियो । पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका- ३, छपकैयाका ७४ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको हो । नेपालमा पछिल्लो २४ घन्टाभित्र ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनासमेत रहेका छन् । हाल देशभर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको प्रवक्ता गाैतमले जानकारी दिए ।
प्रकाशित समय १८:५६ बजे

















