गृहपृष्ठ क्वारेन्टिन भवन र वृद्धाश्रम बनाउँदै नगरपालिका
क्वारेन्टिन भवन र वृद्धाश्रम बनाउँदै नगरपालिका
नेपालमा कोरोना संक्रमितहरुको संख्या बढिरहेको बेला धनुषाको गणेशमान चारनाथ नगरपालिकाले उदाहरणीय कामको सुरुआत गरेको छ । नगरपालिकाले कमला नदीको छेउ गोदारमा ७० लाख रुपैयाँको लगानीमा सुविधा सम्पन्न क्वारेन्टिन निर्माण गरिरहेको छ ।
विपद व्यवस्थापन कोषको ७० लाखको लगानीमा निमार्ण भइरहेको क्वारेन्टिन निर्माणका लागि नगरपालिकाबाट अहिलेसम्म ५० लाख रुपैयाँ निकासा भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद काफ्लेले बताए ।
नेपाल सरकारले विद्यालयमा राखिँदै आएको क्वारेन्टिन हटाउन निर्देशन दिएपछि दीर्घकालीन सोचका साथ क्वारेन्टिन भवन निर्माणको निर्णय गरिएको नगर उपप्रमुख मिना देवी यादवले बताइन् । उनका अनुसार क्वारेन्टिनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यसअघि नगरपालिकाले ६ सय व्यक्तिलाई ५ वटा विद्यालय र एक अस्पताल गरी ६ वटा क्वारेन्टिनमा राखेको थियो ।
प्रदेश २ को १ सय ३६ पालिकामध्ये सबैभन्दा पहिले आफूहरुले सर्वपक्षीय निर्णय गरेर कोरोना संक्रमण न्यूनीकरणका लागि क्वारेन्टिन निमार्ण गरिरहेको नगरप्रमुख रामबाबु यादवले बताए । उनका अनुसार क्वारेन्टिनका लागि ७० लाखसहित कोरोना संक्रमण रोकथामका लागि हालसम्म नगरपालिकाको दुई करोड रुपैयाँ खर्च भइसकेको छ । ‘अहिलेका क्वारेन्टिनका लागि प्रयोग हुन्छ । महामारीको संकट समाप्त भएपछि अस्पताल वा पार्टी प्यालेसको रुपमा समेत प्रयोग गर्न सकिने सोचेका छौं,’ मेयर यादवले भने ।

मेयरको तलबबाट वृद्धाआश्रम कोष
निमार्णाधीन क्वारेन्टिननजिकै नगरपालिकाले १३ कोठे सुविधासम्पन्न वृद्धाआश्रम भवनसमेत निमार्ण गरिरहेको छ । नगर प्रमुख यादवका अनुसार नगरपालिकाको ६० लाख रुपैयाँको लागतमा वृद्धाआश्रमको भवन निर्माण भइरहेको हो ।
नगरपालिकाबाट आफूले पाएको ६ लाख ४० हजार रुपैयाँ तलब वृद्धाआश्रम सञ्चालन कोषमा राखेको मेयर यादवले बताए । सञ्चालक समिति गठन गर्ने र समितिमार्फत नै वृद्धाश्रम सञ्चालन गर्ने योजना रहेको उनले सुनाए ।
प्रकाशित समय १५:१४ बजे

















