गृहपृष्ठ अर्घाखाँचीमा अपांगता भएका महिलालाई घरमै नागरिकता
अर्घाखाँचीमा अपांगता भएका महिलालाई घरमै नागरिकता
बर्खामासको समय, झमझम परिरहेको झरी । पहिरोको जोखिम, ठाउँठाउँमा अवरुद्ध बाटो छिचोल्दै पाल्पाको सिमाना नजिक पुग्न निकै कष्टकर र जोखिम छ । कोरोनाको त्रासले मानिस त्रसिद छन् । जोखिम मोलेर बाहिर फेर हिँड्न पनि उत्तिकै जोखिम छ ।
कार्यालयमा जाँदा कर्मचारी तर्सिने गर्छन्, कोरोनासँगै बाढी पहिरोका कारण धेरैलाई यात्रा गर्न कठिन छ । यस्तो जोखिमको बाबजुत यहाँका अपांगता भएका महिलाले घरमै नागरिकता पाएका छन् । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले गाउँमै पुगेर नागरिकता वितरण गरेका हुन् ।
पाणिनी गाउँपालिका–४ पटौटीमा पुगेर दुई जना फरक क्षमता भएकालाई परिचयपत्र प्रदान गरेका हुन् । पटौटीका २७ वर्षीय बालकुमारी रास्कोटी र १९ वर्षीय शिवा घर्तीलाई अपांगता परिचयपत्र प्रदान गरिएको प्रजिअ पौडेलले बताए । सदरमुकाम सन्धिखर्कबाट उक्त स्थानमा जान गाडीमै पनि झण्डै चार घण्टा लाग्दछ ।
अविरल वर्षाले पहिरो गएर बाटो अवरुद्ध भएपछि कतै गाडी कतै मोटरसाइकल र कतै पैदल यात्रासमेत गरेर प्रजिअ पौडेलले घरमै पुगेर दुई जना अपांगता भएका महिलालाई नागरिकता प्रदान गरेका हुन् । घरमै परिचयपत्र पाएपछि रास्कोटी र घर्तीसँगै परिवार खुशी भएका छन् ।
यसरी बिना झन्झट घरमै परिचयपत्र पाउँदा निकै खुशी लागेको उनीहरुले बताए । यस्तो परिस्थितिमा पनि घरमै आएर नागरिकता दिएको भन्दै जिल्ला प्रशासन कार्यालय र प्रजिअलाई धन्यवाद दिए । नागरिकता पाउने अन्य सात जनाको घरमै पुगेर अभिभावकको सनाखतसमेत गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले पाणिनी गाउँपालिकामा कोरोनाका कारण सर्वसाधारणले खेप्नुपरेको सास्ती, कोरोना जोखिमबाट बच्न उनीहरुले अपनाएको सावधानीबारेमा जानकारी लिए । मास्क नभएका परिवारलाई मास्क वितरण गर्नुका साथै लगाउने तरिकाका बारेमा पनी उनले सिकाए ।
सेवाग्राहीमैत्री सेवा र उत्कृष्ट कार्यसम्पादनले यो वर्ष अर्घाखाँची ७७ जिल्लामध्ये अतिउत्कृष्ट (ए प्लस) को सूचीमा परेको छ । गृह मन्त्रालयबाट केही दिनअघि सार्वजनिक भएको मूल्यांकनमा देशका तीन वटा जिल्ला अति उत्कृष्टको सूचीमा परेका थिए । कोरोना महामारी नियन्त्रण, आइसोलेसन कक्षको निर्माण, क्वारेन्टिनको व्यवस्थापनमा जिल्ला प्रशासनले खेलेको भूमिका राम्रो रहेको स्थानीयवासी बताउँछन् । (रासस)
प्रकाशित समय ०७:१० बजे

















