गृहपृष्ठ काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने स्थानीय प्रशासनको तयारी
काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने स्थानीय प्रशासनको तयारी
दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने स्थानीय प्रशासनले तयारी गरेकाे छ । निषेधाज्ञा वा लकडाउन गर्ने भन्ने विषयमा उपत्यकाभित्रका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आन्तरिक तयारी थालेका छन् ।
स्वास्थ्य मापदण्ड पालना गराउन के-कस्ता विधि अपनाउने भन्नेबारे केही दिनदेखि छलफलहरु भइरहेको र आज पनि छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उनका अनुसार संक्रमितको संख्या दिनदिनै बढ्दै गएको, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पालना नगरिएको, काठमाडौं बाहिरबाट लुकिछिपी उपत्यकामा भित्रिने क्रम नरोकिएको जस्ता कारण कुनै न कुनै निर्णय लिनैपर्ने अवस्था आएको उनले बताए ।
भीडभाड नरोकिने र कतिपय मानिस स्वास्थ्यका मापदण्ड पालना गर्न आनाकानी गर्न थालेपछि थप कडाइ गर्नुपर्ने अवस्था आएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । गृह मन्त्रालयको निर्देशनको पर्खाइमा रहेको र निर्देशन नआए तीनवटै जिल्ला प्रशासन कार्यालयले आफैँ निर्णय लिने तयारीमा रहेको पाण्डेले बताए ।
गत ३० गते रातिदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका पसल बन्द गर्न, भिडभाड, जात्रा, सभा, जुलुस, महोत्सवजस्ता गतिविधि नगर्न, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको थियो । तर सोको पालना नभएकाले संक्रमण थप बढिरहेको स्वास्थ्यकर्मी र विज्ञहरूले बताएका छन् ।
प्रकाशित समय १२:३९ बजे

















