गृहपृष्ठ किमाथांका-खाँदबारी सडक : ट्रयाक खोल्न १४ किलोमिटर बाँकी, दुई वर्षदेखि काम स्थगित
किमाथांका-खाँदबारी सडक : ट्रयाक खोल्न १४ किलोमिटर बाँकी, दुई वर्षदेखि काम स्थगित
किमाथांका नाका (पारि चीनको देन्दाङ र चांगा ।
बहुप्रतिक्षित किमाथांका-खाँदबारी सडक खण्डको ट्रयाक खोल्ने कार्य दुई वर्षदेखि बन्द छ । संखुवासभाको खाँदबारीबाट एक सय ३४ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको उत्तर-दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । चीनको सिमाना किमाथांका जोडिन अब १४ किलोमिटर मात्र बाँकी छ । यो सडकको चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा ट्रयाक खोल्न बाँकी छ । ती ठाउँमा ठूला चटान र पहाड रहेकाले विस्फोट गरी मात्र ट्रयाक खोल्न सकिने आयोजनाले जनाएको छ ।
जोगवनी किमाथांका सडक विराटनगरको रानीदेखि संखुवासभाकाे किमाथांकासम्म ३ सय ४० किलोमिटर लामो छ । संखुवासभाको खाँदबारीदेखि किमाथांकाको दूरी १६२ किलोमिटर छ । जसमा च्याम्पाङदेखि घोङगोप्पासम्मको १४ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । ठूला चटान र पहाडका कारण निर्माण कम्पनीले ट्रयाक खोल्न नसकेपछि उक्त कार्य सेनालाई दिने भनिए पनि हालसम्म त्यसको काम सुरु हुन सकेको छैन ।
चीन-भारत जोड्ने सबैभन्दा छोटो सडक मार्ग किमाथांका–विराटनगर–रानी सडकको ट्रयाक खोल्ने कार्य विगत दुई वर्षदेखि रोकिएको हो । सरकारको राष्ट्रिय गौरवको आयोजना किमाथांका–जोगवनी सडकखण्ड दुई वर्षदेखि काम रोकिँदा समेत सरकारको ध्यान पुग्न सकेको छैन । खाँदबारी–किमाथांका सडकखण्डको एक सय ६२ किलोमिटर सडकमध्ये १४ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको उत्तर दक्षिण (कोसी) सडक आयोजनाका प्रमुख गौतम कुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी किमाथांका नाकाबाट पनि यस अघि नै १४ किलोमिटर सडकको ट्रयाक खोलिसकेको छ । दुई वर्ष पहिले नै घोङ्गोप्पासम्म सडक मार्ग खुलेपनि त्यसको संरक्षण नहुँदा पहिलेकै अवस्थामा पुग्न लागेको छ ।
सिन्धुपाल्चोकबाट तिव्बत हुँदै डोजर र इन्धन ल्याएर किमाथांकाबाट १४ किलोमिटर सडक निर्माण भइसकेको आयोजना प्रमुख श्रेष्ठले बताए । शर्मा-एपेक्स-कान्छाराम कम्पनीले ट्रयाक खेल्ने ठेक्का लिएको किमाथांकादेखि १९ किलोमिटर (१६२ देखी १४३ किलोमिटर) सम्मको सडकमध्ये १४ किलोमिटर दुई वर्ष पहिले नै सम्पन्न गरेको थियो । ट्रयाक खोल्ने जिम्मा सेनालाई दिएपनि काम शुरु नभएपछि संखुवासभावासी निराशा बनेका छन् ।
त्रिदेशीय लिकंरोड किमाथांका–जोगवनी सडकखण्डको भिर फुुटाउने जिम्मा सेनालाई दिने निर्णयपछि १४ किलोमिटर क्षेत्रको जिम्मेवारी आफ्नो कार्यालयको नरहेको आयोजना प्रमुख श्रेष्ठले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोझै सेनासँग सम्झौता गरेर काम अगाडि बढाउने भएकाले यसबारे आफूलाई कुनै जानकारी नभएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ । ट्रयाक खोल्नका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ राख्ने बंकर निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको प्रमुख श्रेष्ठले बताए । च्याम्ताङदेखि घोङगोप्पासम्म १४ किलोमिटर ट्रयाक खोल्ने कार्यले प्राथमिकता नपाउँदा छिमेकी मुलुक चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक (किमाथांका–जोगवनी सडकखण्ड) ओझेलमा परेको छ ।
सडक निर्माणको काम आर्थिक वर्ष २०६५/०६६ देखि सुरु भएको थियो । उत्तर दक्षिण (कोसी) सडक कार्यालयले यो सडकलाई विभिन्न ७ खण्डमा विभाजन गरी ट्रयाक खोल्ने र स्तरोन्नतीको काम ठेक्कामार्फत शुरु गरेको थियो । च्याम्ताङदेखि घोङगोप्पासम्म १४ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । २०७६ भदौ २२ गते मन्त्रिपरिषद्को बैठकले किमाथांका–जोगवनी सडकखण्डको १४ किलोमिटर भिर फुटाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो ।
च्याम्ताङसम्म ट्रयाक खोलेपनि खाँदबारीबाट बरुण दोभानसम्म (८० किलिमिटर) सडकखण्डमा हिउँदमा यातायात सञ्चालन हुने गरेको छ । वर्खायाममा फ्याक्सिन्दासम्म मुस्किलले यातायत सञ्चालन हुन्छ । यसरी सडक निर्माण र किमाथांका सडक विस्तारसँगै त्यसक्षेत्रमा चहलपहल बढेपनि किमाथांका नाका भने सञ्चालनमा आउन सकेको छैन । सडक विस्तारसँगै यहाँ भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयवासीको माग छ ।
नेपालकै दुई मित्रराष्ट्र चीन–भारत जोड्ने छोटो सडकको रुपमा रानी विराटनगर देखि किमाथांका सडकलाई लिइन्छ । सडक विस्तारले मित्रराष्ट्र चीनसँग व्यापार बढाउने र जिल्लाका उत्तरी भेगका नागरिकले यातायात तथा अन्य सुविधा पाउने छन् । यो सडकबाट एक नम्बर प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरवासी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । किमाथांका नाका चीनसँग जोडिने सबैभन्दा होचो र मानवबस्ती रहेको नाका मानिन्छ ।
९ पुल निर्माणका क्रममा
नुमदखि बरुण दोभानसम्म ९ वटा ‘सडक पुल’ निर्माणकोे क्रममा छ । अधिकांश पुल मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले वातावरण प्रभाव मूल्यांकन (इआइए) नगरी ठेक्का लगाएकाले समयमा काम सम्पन्न हुन सकेन । निकुञ्ज क्षेत्रभन्दा वाहिर रहेका फाक्रे खोलाको पुलको काम समेत ५० प्रतिशत मात्र सम्पन भएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा नै यी सबै पुलको निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ ।
एकुवा खोला, ठाडो खोला र उवा खोलामा पुल निर्माणको काम अहिलेसम्म पनि सुरु हुन नसकेको आयोजनाका सूचना अधिकारी आशिष नेपालले जानकारी दिए । नाङ, चाङ, जोर, उवाङ् र वाङ् खोलाको पुलको प्रगति पनि न्यून रहेको उनको भनाइ छ । इआइए नगरी ठेक्का प्रक्रियामा गएका कारण निकुञ्जले काममा वाधा पुर्याएकाले पुल निर्माणको काम ढिलाई भएको उनले बताए । यस सडक खण्डमा १८ वटा पक्की पुल निर्माण गर्नुपर्ने छ ।
६५ प्रतिशत काम सम्पन्न
खाँदबारी–किमाथांका (१६२ किमि) सडकअन्तर्गत गत आर्थिक वर्षसम्म ६५ प्रतिशत काम सम्पन्न भएको उत्तर दक्षिण (कोसी) सडक आयोजनाका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिए । ट्रयाक खोल्नेबाहेक सडक स्तरोन्नति, चौडा बनाउने, सव वेस तयार र पुल निर्माणको काम भइरहेको छ । अधिकांश ठेक्काको समय गत आर्थिक वर्षमा सकिएका छन् । दुई पटकसम्म समय म्याद थप गर्दा पनि ती पुलको निर्माण सम्पन्न हुन सकेको छैन ।
आर्थिक वर्ष २०७६/०७७ मा ८४ करोडमध्ये ५४ करोड ५० लाख रूपैयाँ मात्र खर्च भएको आयोजनाका सूचना अधिकारी नेपालले जानकारी दिए । भुक्तानी हुन अझै बाँकी रहेकाले यस महिनाको अन्त्यसम्म थोरै खर्च रकम बढ्ने उनको भनाइ छ । चीन र भारत जोड्ने संखुवासभाको किमाथांका नाका सबैभन्दा छोटो नाकाको रुपमा रहेको छ । अहिलेसम्म यो सडकखण्डमा तीन अर्ब खर्च भइसकेको बताइएको छ । (रासस)
प्रकाशित समय १४:२६ बजे

















