गृहपृष्ठ कोरोना संक्रमित बढ्दै गएपछि ‘प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला’ प्रयोगमा

कोरोना संक्रमित बढ्दै गएपछि ‘प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला’ प्रयोगमा

काभ्रेको धुलिखेलमा शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा आएको छ । कोरोनाको संक्रमणदर बढ्दै गएको अवस्थामा सो रोगको परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालाको अवस्थाबारेमा वाग्मती प्रदेश सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी लिएका छन् ।

सो क्रममा मन्त्री दुलालले काभ्रेलगायत आसपासका जिल्लामा सेवा कार्यालय स्थापना गर्ने सरकारको नीतिअनुसार प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको बताए । स्थापना भएको प्रयोगशालाबाट विभिन्न रोगको परीक्षण र पहिचान गर्न सकिने गरी काम अगाडि बढाइएको उनले बताए ।

प्रादेशिक जनस्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य निर्देशक नारायण कार्कीले शनिबारदेखि परीक्षण मेशिन चलेको बताए । काभ्रेलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लालाई समेट्ने गरी स्थापना भएको प्रयोगशालामा दैनिकरूपमा ५०० भन्दा बढीको परीक्षण गर्न सकिने निमित्त निर्देशक कार्कीले बताए ।

प्रयोगशालामा सात जनशक्तिले सेवा दिने जनाइएको छ । मेशिन सञ्चालनमा आए पनि स्वाब परीक्षणका लागि नमूना संकलन आजदेखि मात्रै हुने कार्कीले बताए । वाग्मती प्रदेश सरकारकोे प्रदेश राजधानी हेटौडामा भए पनि प्रादेशिक केन्द्रीय प्रयोगशाला धुलिखेलमा स्थापना भएको उनले बताए ।

जनस्वास्थ्य प्रयोगशालाका लागि हाललाई नगरपालिकाले भवनको व्यवस्थापन गरेको र बाँकी पूर्वाधार नगरपालिका र प्रदेश सरकारको साझेदारीमा भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए । त्यसलाई थप व्यवस्थित बनाउनका लागि नगरपालिकाले जग्गाको व्यवस्थापन गर्ने र भवन निर्माणको काम प्रदेश सरकारले गर्ने भएको उनले बताए । (रासस)

प्रकाशित समय ०७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु