गृहपृष्ठ पर्वतमा कांग्रेसको चुनावी सरगर्मीे बढ्यो, सभापतिमा ७ जना आकांक्षी
पर्वतमा कांग्रेसको चुनावी सरगर्मीे बढ्यो, सभापतिमा ७ जना आकांक्षी
नेपाली कांग्रेसलाई सशक्त बनाउने उम्मेदवारको साझा एजेण्डा
नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशनको नेतृत्वको लागि केन्द्रमा नेताहरुको भागदौड चलिरहेको छ । देशभरि चुनावी रौनक लागिरहँदा पर्वतमा पनि चुनावी माहोल तात्दै गएको छ ।
पर्वतमा सतही रुपमा जिल्ला सभापतिको लागि नेताहरु नदेखिएता पनि आंकाक्षीको रुपमा भने पर्वतका दर्जनभन्दा बढी नेताहरु दौडधुपमा जुटेका छन् । अहिलेसम्म पर्वतमा जिल्ला सभापतिको चुनाव लड्नका लागि सात जना प्रत्यक्ष रुपमै देखिएका छन् ।
पार्टी स्रोतका अनुसार सभापतिमा कांग्रेसका नेताहरु रामबहादुर प्रसाई (जीवन), विश्वप्रकाश प्रसाई, रामशर्मा पौडेल, खगेन्द्र तिवारी, युवराज जोशी, यामबहादुर मल्ललगायत सात जना आकांक्षी देखिएका छन् ।
१३औं महाधिवेशनमा रामबहादुर प्रसाई र विश्वप्रकाश प्रसाईबीच जिल्ला सचिवमा प्रतिस्पर्धामा भएको थियो । जसमा २६ मतान्तरले विश्वप्रकाश प्रसाई विजयी भएका थिए । अबको महाधिवेशनमा पनि दुवै जनाको प्रतिस्पर्धा प्रवल कांग्रेस स्रोतले जनाएको छ । ‘दुवैको भिजन फरक रहेको छ ।’ एक नेताले भने ।
१३औं महाधिवेशनमा पनि दुई प्रसाईबीच सचिवका लागि प्रतिस्पर्धा भएको थियो तर, अहिलेको अवस्थामा के हुने भन्ने कुरा पार्टीको आधिकारिक निर्णयपश्चात् मात्र थाहा हुने उनले बताए । रामबहादुर प्रसाईले आफ्नो उम्मेदवारी नेपाली कांग्रेसका भातृ संगठनहरुलाई चलायमान गराउनु रहेको बताएका छन् ।
न्युज कारोबारसँग उनले भने, ‘पार्टीलाई एकदम सक्रिय, सशक्त रुपमा गाउँगाउँमा संगठन विस्तार गराउनको निमित्त, खुला अवस्था र प्रजातन्त्र आइसकेपछि नेपाल शिक्षक संघलाई संरक्षण, कर्मचारी युनियन संघको संरक्षण, दलितवर्गकोे माग सम्बोधन गर्न, जनजातिको (मगर) समुदायलाई उकास्न, पार्टीमा महिलाहरुको सहभागिता, कांग्रेसभित्रको विकृति र विसंगतिलाई सुधार, मजदुरको पार्टी, मौलाएको विकृतिको चिरफार गर्दै काग्रेसलाई सक्षम पार्टीको रुपमा स्थापना गर्ने उद्देश्यअनुरुप सक्षम नेतृत्वका लागि लागिरहेको छु ।’
यता विश्वप्रकाश प्रसाई भने पार्टीका अग्रजको सल्लाहअनुसार जिल्ला सभापतिको उम्मेदवारी दिने बताउँछन् । उनले भने, ‘अहिले नै जिल्ला सभापतिको लागि उम्मेदवार दाबी गर्दिन् । नेता, कार्यकर्ताहरुले जे निष्कर्ष त्यहीअनुरुप अगाडि बढ्नेछु ।’
पार्टीको सल्लाहकार रामशर्मा पौडेल पनि जिल्ला सभापतिको लागि उम्मेदवारी दिने निर्णय गरेका छन् । पार्टी कमजोर भइसकेको हुँदा पार्टीलाई सुधारको लागि आफ्नो उम्मेदवारी रहेको उनी बताउँछन् । उनले भने, ‘पार्टी मिलाउनको लागि मेरो उम्मेदवारी हो, पार्टीलाई सशक्त रुपमा बलियो बनाउने विचारले उठेको हुँ, सत्ताधारीबाट दिएका झुट्टा आश्वासनबाट प्रजातन्त्र पनि जोगिदैन ।’ कांग्रेसमा जिल्लामा नयाँ सोच राजनीतिक विचारलाई प्राथमिक दिएर सैद्धान्तिक विचारधारका व्यक्ति प्रवेश गरेमा कांग्रेस पार्टी बलियो हुने उनको तर्क रहेको छ । जिल्ला सभापति पद जितेमा पार्टीलाई मजबुतबनाउने लक्ष्य रहेको उनले बताए ।
त्यस्तै अहिलेको परिपेक्षमा युवा नेतृत्वको आवश्यकताका साथै पार्टीमा गुणगत नगरेर कांग्रेसलाई व्यक्तिगत समूह नबनाई नितान्त पार्टीको उद्देश्यमा चलेमा पार्टी सशक्त बन्ने प्रजातान्त्रिक महासंघका केन्द्रीय सदस्य रामचन्द्र तिवारीले बताए । उनले भने, ‘नयाँ नेतृत्व ल्याउँदा नाता गोता होइन् कि पार्टीमा दिएको योगदानको आधारमा हुनपर्छ । साथै शिक्षितवर्गका व्यक्तित्वहरु केही गुण बढी रहँदा त्यसतर्फ पनि पार्टीले ध्यान दिन जरुरी छ ।’
प्रकाशित समय ०७:५५ बजे
















