गृहपृष्ठ आठ सय वर्ष पुरानो गुम्बाको बाहिरी सजावटमै ७० लाख खर्च, आन्तरिक सजावट अझै बाँकी

आठ सय वर्ष पुरानो गुम्बाको बाहिरी सजावटमै ७० लाख खर्च, आन्तरिक सजावट अझै बाँकी

हुम्लाको एक ऐतिहासिक गुम्बामा ढुंगा कुँद्न (स्टोन कार्भिङ)का लागि कर्णाली प्रदेश सरकारले ७० लाख रुपैयाँ खर्च गरेको छ । रलिङ गुम्बामा ७० लाख खर्च गरेर विभिन्न प्रकारका ढुंगाहरुमा बुट्टेदार आकृति कुँदिएको हो ।

ढुंगा कुँदेर बुट्टेदार बनाइएसँगै रलिङ गुम्बाको स्वरुप नै फेरिएको छ । सजिसजावटले गुम्बालाई पुनः विशाल खस साम्राज्यका प्रतिभाशाली राजा अशोक चल्लबारे जानकारी राख्न चाहनेका लागि उत्सुकता जगाइदिएको छ ।

गुम्बाको अगाडि बुट्टेदार ढुंगा राखेर बाटो र अन्य स्थानलाई सुन्दर बनाइएको छ । करिब दुई हजार ढुंगामा बुद्ध धर्मलाई सम्झाउने चित्र तथा मन्त्रहरु कुँदेर राखिएको वन डिभिजन कार्यालय हुम्लाका प्राविधिक दीपक रावतले जानकारी दिए ।

नेपालकै एक शैक्षिक तथा ऐतिहासिक गुम्बा भएर पनि उचित संरक्षण, सम्वर्धन नहुँदा गुमनाम बन्दै गएको थियो । सजिसजावटपछि गुम्बा दर्शनयोग्य बनेको स्थानीय बताउँछन् ।

वि. सं. १३१२ मा अशोक चल्लको नेपाली भाषाको दोस्रो शुद्ध लेखोट पाइएको यो स्थान मुलुककै ऐतिहासिक दस्तावेज पनि हो । यसको विकास, विस्तार र प्रचारप्रसारमा राज्यले ठूलो लगानी गर्नुपर्ने स्थानीय खोजकर्ता एवं संघीय सांसद छक्कबहादुर लामा बताउँछन् ।

यसअघि पनि विभिन्न निकायबाट बजेट प्राप्त भए पनि सदुपयोग हुन सकेको थिएन । गुम्बाको आन्तरिक सजावटका लागि करोडौं रकम खर्च गर्नुपर्ने स्थानीय लामा पुजारीहरुले बताएका छन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण र शान्त स्थानको रुपमा परिचित रलिङ गुम्बाको बाहिरी सजावट मात्रैले पनि आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने सिमकोट गाउँपालिका ३ का बासिन्दा छिरिङ लामाले बताए । तर, त्यसका लागि प्रचारप्रसार बढाउने र अन्य पर्यटन पूर्वाधार निर्माणमा ध्यान दिन उनको सुझाव छ ।

प्रकाशित समय १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु