गृहपृष्ठ सुनसरीमा ‘टिकटक स्टार प्रतियोगिता’ हुँदै, विजेतालाई एक लाख पुरस्कार
सुनसरीमा ‘टिकटक स्टार प्रतियोगिता’ हुँदै, विजेतालाई एक लाख पुरस्कार
सुनसरीको बराहक्षेत्रमा ‘सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७’ हुने भएको छ ।बिहीबार पत्रकार भेटघाट गर्दै सदाबहार मिडिया प्रालिद्वारा आयोजना हुन गइरहेको उक्त प्रतियोगिता आगामी भाद्र १३ गतेदेखि कार्तिक २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पहिलो चरणअन्तर्गत भाद्र १३ गतेदेखि २८ गतेसम्म आवेदनको रुपमा सहभागीले सदाबहार मिडियाको अफिसियल पेजमा आफ्नो टिकटक भिडियो लिंक पठाउनेछन् भने त्यसमध्ये भ्युजको आधारमा उत्कृष्ट १०० सहभागीलाई दोस्रो चरणमा प्रवेश गराइने कार्यक्रम संयोजक देब भट्टराईले बताए ।
असोज १९ गते दोस्रो चरणमा उत्कृष्ट २० जनाको भिडियोमा आएको भ्युजको आधारमा छनोट गरिनेछ । क्रमशः ५ औं चरणसम्म भोटिङको आधारमा उत्कृष्ट १५, १०, ५, ३ र फाइनल क्रमशः असोज २७, कार्तिक ६, कार्तिक १४, कार्तिक २१ र कार्तिक २८ गते बिजेता घोषणा गरिने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
सहभागीले अर्को चरणमा प्रवेश गरेपछि प्रत्येक नयाँ चरणमा नयाँ भिडियो पठाउनुपर्ने र अश्लीलता भएको भिडियो अमान्य हुने, कुनै जात, धर्म, पेशा, समुदाय र राष्ट्रियतामा आँच आउने खालको भिडियो भएमा मान्य नहुने व्यवस्थापक रमेश यादबले जानकारी दिए ।
प्रतियोगीले शुल्क तिरेको रसिद, नाम, ठेगाना, सम्पर्क नम्बर सदाबहारको फेसबुक पेजमा इन्बक्स गर्नुपर्ने, १५ सेकेन्डभन्दा माथिको नेपाली भाषाको भिडियो हुनुपर्ने, सहभागीले आफ्नै अभिनयको भिडियो पठाउनुपर्ने, सहभागीले सर्त पालना नगरे भिडियो रद्द गरिने र आवेदन शुल्क फिर्ता नहुने लगायतका नियमहरु राखेको प्रतियोगिताका प्रवक्ता किरण चौलागाईंले बताए ।
प्रतियोगितामा प्रथम हुनेले स–प्रमाणपत्रसहित नगद १ लाख ५० हजार रुपैयाँ, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १ लाख र ५० हजार रुपैयाँुसहित प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक भरत खड्काले बताए । उनका अनुसार यो प्रतियोगिता व्यापार गर्ने उद्देश्यले गरिएको भन्दा पनि फुर्सदको सदुपयोग गरिएको हो ।
प्रकाशित समय १५:१० बजे

















