गृहपृष्ठ वालिङ नगरपालिकामा ११५ घरमा खरको छाना हटाएर जस्तापाता

वालिङ नगरपालिकामा ११५ घरमा खरको छाना हटाएर जस्तापाता

स्मार्ट सिटीको अवधारणा अन्तर्गत स्याङ्जाको वालिङ नगरपालिकाका ११५ घरका खरको छाना हटाएर जस्तापाता लगाइएको छ । नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६/०७७ मा ती घरको खरको छाना विस्थापन गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

गत आर्थिक वर्षमा नगरपालिकाको ५० लाख रूपैयाँ र शहरी विकास मन्त्रालयको सशर्त पाँच लाख रूपैयाँ गरी टेण्डर प्रक्रियामार्फत जस्तापाता खरीद गरी वितरण गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।

‘१४ वडाका खरका छाना विस्थापनका लागि लगत सङ्कलन गरेका थियौं,’ नगरप्रमुख खाँणले भने, ‘२३० घरका छाना विस्थापनका लागि आवेदन परेकोमा गत आर्थिक वर्षमा ११५ वटाको खरको छानो हटायौ, बाँकी पनि हटाउनेछौँ ।’ स्वास्थ्यका दृष्टिले खरको छानो उपयुक्त हुँदाहुँदै आगलागीको संभावना हुने र छाना छाउने दक्ष कामदारको अभावले नगरपालिकाको आर्थिक सहयोगमा जस्तापाता लगाईदिने योजना बनाइएको बताइएको छ । ‘कतिपय घर परिवार छानो फेर्न नसक्ने अवस्थामा हुनुहुन्छ, खरको छानो भएका गरीब हुन् भनी फरक ढङ्गले हेर्ने र प्रवृत्तिको अन्त्य गर्न यो अभियान चलाइएको हो,’ नगर प्रमुख खाँणले भने ।

खरका छाना भएका घरधनीले सम्बन्धित वडाको सिफारिस र छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकले हेरेर जस्तापाता दिने प्रक्रिया रहेको नगरपालिकाका जिन्सी शाखा प्रमुख राजेन्द्रप्रसाद रेग्मीले बताए । (रासस)

प्रकाशित समय ०६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु