गृहपृष्ठ चुरेका पहिरो पीडित : पानीमा भिजेरै रात काट्छन्, भोकमा मकैले छाक टार्छन्
चुरेका पहिरो पीडित : पानीमा भिजेरै रात काट्छन्, भोकमा मकैले छाक टार्छन्
दुई महिनापछि राहत दिने जनप्रतिनिधिको आश्वासन, दाताको बाटो कुर्दै पहिरो पीडित
पहिरोले घरनै बगाउन थालेपछि चुरे गाउँपालिका ५ कैलालीका पद्मा-जल्लु बोहोरासहित गाउँ नै उठीबास भएर सडकमा पुग्यो । छोरा छोरीबाट अलग बस्दै आएका बोहरा दम्पति सडकमा पुगेपछि साँझ बिहान के खाने भन्ने चिन्तामा छन् ।
करिब ७० वर्ष उमेर पुगेका बोहरा दम्पतिलाई गाउँ पुग्नै २ घण्टा लाग्छ । अहिले सडकमा न खानको व्यवस्था छ, न बस्नको नै । घरमा भएको खाद्यान्न पनि ल्याउनै मुस्किल छ । पहिरोको डरले हतारहतार भाग्दै सडकमा आएपछि अहिले उनीहरुले निकै कष्टकर जीवन विताइरहनु परेको छ । खेतबारी सबै पहिरोले पुरिसकेको छ । पदमा बोहराले भनिन्, ‘घर पहिरोले बगाउन थालेपछि जनप्रतिनिधि र प्रहरी आएर हामीहरुलाई सडकमा बसाल्यो । अब के खाने, कता बस्ने भन्ने कुरा केही छैन ।’

अहिले सडकमा काचो मकै खाएर छाक टारिरहेको उनले बताइन् । ‘साहुबाट उधारो मागेर केही दिन छाक टारे पनि अब साहुजीले पनि उधारो खाद्यान्न दिदैनन् । स्थानीय निकायलाई गुहार्दा पनि वास्ता नै गर्दैन । अहिले निरुपाय भएका छौं ।’ उनले भनिन् । पद्माका श्रीमान् जल्लु बोहरा पनि यो सडकमै बास कति बस्ने भने प्रश्न गर्छन् । ‘यहाँ न त बसोबासको कुनै निश्चित छ, नत खाने कुराको नै । बीच बाटोमा अलपत्र पारेर स्थानीय निकायले दोधारमा पारेको छ ।’
एक महिनाअघि आवासनै पुरिने गरी गएको पहिरोका कारण कैलालीको चुरे गाउँपालिका बासीको बास सडकमा भयो । बोहरा दम्पति मात्रै होइनन् कैलालीको चुरे गाउँपालिका ५ पट्रेनीका करिब ३० परिवार विस्तापित भएर सडकमा बसिरहेका छन् । गुँडी गाउँ पहिरो पीडितलाई पनि थपेर अहिले ४० परिवार सडकमा बसिरहेका छन् । उनीहरु चुरे गाउँपालिका ५ खानिडाँडा बजारनजिकै राजमार्ग छेउमा उनीहरु त्रिपाल हालेर बसेका छन् । घरसँगै खेतबारीसमेत बगाएपछि उनीहरुको बिचल्ली भएको छ । घर जोखिममा भएकाहरु अहिले सडकमा आउने क्रम पनि बढेको छ ।

चुरे गाउँपालिका ५ मा पहिरोले गर्दा ४० अहिले घर बिस्थापित भएका छन् । केही घर पहिरोले बगाइसकेको त केही घर पहिरोको उच्च जोखिममा भएपछि स्थानीय तह र प्रशासनले उनीहरुलाई सडक छेउमा त्रिपालमुनी राखेको छ । रेडक्रस, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहबाट उनीहरुलाई अहिलेसम्म केही थान त्रिपाल मात्रै उपलब्ध भएका छन् ।
सडकमा बास बसिरहेका पहिरो पीडितहरु कोही काचो मकै पोलेर खाइरहेका छन् त, कोही नजिकको साहुजीबाट उधारो मागेर छाक टारिरहेका छन् । बस्ती पुरै जानेगरी पहिरो आएपछि अब त्यो ठाउँमा फर्किनसमेत कुनै ठाउँ छैन । दैनिक ज्यालादारीमा काम गरि खर्च धानिरहेका पहिरो पीडितहरुलाई कोरोना भाइरसका कारण निषेधाज्ञा जारी भएसँगै छाक टार्न झन मुस्किल भएको हो ।

‘सरकारले सडकमा त राख्यो अब के गर्ने कुनै तयारी छैन,’ पहिरो पीडित लालबहादुर थापाले भने, ‘हामीहरुको स्थायी व्यवस्थापन गर्नुपर्छ । यो त्रिपालमा पानी परे चुहिन्छ, त घाम लागे पोल्छ । यस्तो ठाउँमा हामीले कसरी काट्ने ? उनको प्रश्न छ ।
गाउँमा गाईभैँसी पालेर खर्च चलाउनेहरुलाई पनि पहिरोले विपत्तिमा पारेको छ । त्रिपालमुनी परिवार पाल्न निकै समस्या भएको गुनासो उनीहरुको छ । स्थानीय जनप्रतिनिधिबाट २ महिनापछि केही राहत उपलब्ध हुने आश्वासन पाएका पहिरो पीडितहरु समय कुर्दै बसेका छन् । सरकारले अब बस्ती सार्ने व्यवस्था गरिदिए राहत पुग्ने हुने उनीहरुको भनाई छ । पहिरोले घर बगाएपछि त्यहाँ बस्न सकिने अवस्था छैन । सरकारले पनि हाम्रा बारेमा केही नसोचेको पहिरो पीडित गणेशबहादुर थापाको गुनासो छ ।

पहिरोबाट विस्थापित भएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ । पालबाट केही राहत पुगे पनि दीर्घकालिन समाधान नहुने हुँदा बस्ती सारेर दीर्घकालिन समाधान खोज्नुपर्नेमा पीडितको जोड छ । बस्ती स्थानान्तरण गरि बाढी तथा पहिरोबाट जोखिममुक्त गराउन सरकारले कार्यक्रम अघि बढाउन स्थानीयको आग्रह छ ।
प्रकाशित समय ११:४२ बजे

















