गृहपृष्ठ उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको परीक्षण नतिजा नेगेटिभ
उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको परीक्षण नतिजा नेगेटिभ
उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहित पदाधिकारीको कोभिड–१९ को पछिल्लो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनीहरुको पीसीआर परीक्षण गरिएको थियो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत महानुभाव सीसीएमसीको उक्त बैठकमा सहभागी थिए । उनीहरुको स्वाब शनिबार बिहान संकलन गरिएकामा साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
बैठकमा चियापानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गत बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै आइसोलेसनमा रहेका थिए । (रासस)
प्रकाशित समय ०९:५६ बजे

















